वर्तमानकाल सम्वाददाता
किर्ते सम्बन्धी कसुर मुद्दामा पक्राउ पुर्जी जारी गरेको २० दिन बितिसक्दा पनि बहुदरमाई नगरपालिका वडा नम्बर २ का वडाअध्यक्ष जितेन्द्र पटेल पक्राउ परेका छैनन् । जिल्ला प्रहरी कार्यालय अपराध अनुसन्धान शाखाले १० असोजमा पर्सा जिल्ला अदालतबाट अनुमति लिई किर्ते सम्बन्धी ३ जनाविरुद्ध मुद्दा दर्ता गरेको थियो । पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर २ निवासी बिकाश प्रसाद यादव र संगिता देवी पक्राउ परेपनि गैरकानुनी ढंगले सिफारिस गर्ने वडाअध्यक्ष जितेन्द्र पटेल अझै पनि फरार छन् ।
पक्राउ पुर्जी जारी भएको २० दिन बितिसक्दा पनि प्रहरीले पक्राउ गर्न नसक्नु आफैमा शंकास्पद रहेको निवेदक प्रमोद प्रसाद यादवले यात्रा डेलीलाई बताए ।नक्कली कान्छी आमा बनाएर गैरकानुनी तरिकाबाट पेन्सन बुझ्दै आएको यस प्रकरणमा वडाअध्यक्ष जितेन्द्र पटेलले प्रहरी र अदालतलाई मिलाइसकेको प्रतिक्रिया दिँदै आएका छन् । नगरपालिकाले दिएको ७८२७ नम्बरको ट्रायल होण्डा मोटरसाइकलमै वडाअध्यक्ष पटेलले आवतजावत गरीरहेको प्रत्यक्षदर्शीले बताए ।
यस सन्दर्भमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले खोजी कार्य जारी रहेको बताए । अहिलेसम्म वडाअध्यक्ष पटेललाई फेला पार्न नसकिएको प्रहरी नायब उपरीक्षक थापाको भनाई छ । लगातार २ पटक वडाअध्यक्षमा निर्वाचित भएका पटेलले २०७५ सालमा पदको दुरुपयोग गरी कानूनविपरीत सिफारिश गरेका थिए ।
उनले स्थानीय विकाशप्रसाद यादवकी पत्नीलाई निजकै नक्कली कान्छी आमा बनाएर सिफारिस गरेका थिए । मृतक बुबाको निवृत्तिभरणको लागि आफ्नी पत्नीलाई विकाशले आफ्नी कान्छी आमा बनाएका थिए भने सो कार्यमा वडाध्यक्ष पटेलले सिफारिश गरेका थिए ।