रौतहट,१० पुस । बारा जिल्लाको सदरमुकाम कलैया उपमहानगरपालिकामा झन्डै दुई महिना अगाडि बालएकता बोर्डिङ स्कुलका प्रधानाध्यापक रूपेश स्वर्णकारको गोली हानी हत्या गरेको आरोप लागेका सुजित सिंहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
स्वर्णकारको हत्या गर्ने समूहका मुख्य नाइकेका रूपमा रहेका सुजित सिंहलाई बारा प्रहरीले मङ्गलवार नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय बाराको स्रोतका अनुसार सिंहलाई भारतीय सीमासँग जोडिएको छतवा मुसहर्वा नाकाबाट नियन्त्रणमा लिइएको छ ।
उनलाई पक्राउ गर्ने क्रममा गोली समेत प्रहार गरिएको स्रोतले जनाएको छ । स्रोतका अनुसार सिंहलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले उनको घुँडाभन्दा मुनि गोली हानेको छ । सिंहलाई मङ्गलवार साँझ नियन्त्रणमा लिइएको बारा प्रहरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुरेश प्रसाद काफ्लेले पनि पुष्टि गरे ।
सिंहको समूहले गत कार्तिक १३ गतेका दिन प्रधानाध्यापक स्वर्णकारको गोली बाल एकता स्कुल नजिकै रहेको मदरसामा गोली हानेर हत्या गरेको थियो ।
टाउको र घातीमा गोली लागेर गम्भीर रूपले घाइते भएका स्वर्णकारको वीरगञ्जस्थित नेपाल मेडीसिटी वयोधा अस्पतालमा सोही दिन उपचारका क्रममा मृत्यु भएको थियो । पक्राउ परेका सिंहको यसअघि पनि बारा जिल्लामा भएका गोली काण्डहरूमा नाम आएको छ ।