धनुषा,०७ माघ। दक्षिणी धनुषाको मुखियापट्टि मुसरनियाँ गाउँपालिकाका अध्यक्ष जय कुमार यादवमाथि ज्यान मार्ने प्रयास भएको छ । शुक्रबार अबेर राती जनकपुरधाम उपमहानगरपालिका वडा नं. ७ जिरोमाईल क्षेत्रमा गाउँपालिका अध्यक्ष यादवमाथि ज्यान मार्ने प्रयास भएको हो । अबेर राती आफन्तलाई अस्पतालबाट भेटेर घर फर्किने क्रममा उनीमाथि आक्रमण भएको जनाईएको छ ।
जनकपुरधामको नमस्कार चौक र तपसीचोकको बीचमा शुक्रबार राती करिब १ बजेको समयमा ज्यान मार्ने प्रयास भएको अध्यक्ष यादवले जनाएका छन् । गाउँपालिका अध्यक्ष यादवले आफ्नो सवारीमा घर फर्किरहेको बेला अज्ञात समूहले आक्रमण गरेको जनाईएको छ ।
नमस्कारचोकमै यादवमाथि दुरव्यवहार गर्दै उनलाई घेरा हालेर मार्ने प्रयास भएपनि सवारी कुदाएर नमस्कारचोकभन्दा पूर्व व्याहुत कलबार कुटी नजिक उनीमाथि घेरा हालेर ज्यान मार्ने प्रयास भएको जनाईएको छ । गाउँपालिका अध्यक्ष यादवका अनुसार, उनको गाडीलाई घेरा हालेर गाडीबाट निकालेर आक्रमण भएको हो । उनको काँध र पीयुठँमा चोट लागेको छ भने उनीमाथि रड प्रहार समेत भएको बताईएको छ ।
आफूसँग कसैको कुनै दुश्मनी नभएको बताउँदै उनले जनकपुरको एक अस्पतालबाट आफन्तलाई भेटेर फर्किने क्रममा आक्रमण गरेको बताईएको छ । गाडीमा सवार आक्रमणकारीहरुलाई आफूले नचिनेको बताउँदै गाडी नम्बर १०४७ मात्र देखेको बताए ।
अबेर राती हुँदा आफू सडकमै कराएको तथा नजिकको प्रहरीलाई समेत जानकारी गराउँदा तत्कालै प्रहरी नआएको गुनासो गरे । उनले रातीमै अरुको मोबाईल लिएर प्रहरी प्रमुख (एसपी) लाई फोन गर्दा सुतेको कारण फोन नउठेको बताए । उनले आक्रणकारीहरुले मोबाईल समेत खोसेर लगेको बताएका छन् । दुईवटा मोबाईल बोक्दै आएकोमा उनको मोबाईल खोसिएको बताएका छन् ।
सोही क्रममा यादवमाथि भएको आक्रमणको खवर सुनेपछि नेपाली काँग्रेसका नेता विमलेन्द्र नीधि यादवलाई भेट गरेका छन् । उनले घटनाको बारेमा जानकारी लिँदै सुक्ष्म अनुसन्धान गरी सिसिटिभी फुटेजको आधारमा अनुसन्धान प्रक्रिया अगाडी बढाउन प्रहरीलाई आग्रह गरेको बताईएको छ । गाउँपालिका अध्यक्ष यादव जनता समाजवादी पार्टी (जसपा) नेपालबाट निर्वाचित गाउँपालिका प्रमुख हुन् । यता, जिल्ला प्रहरी कार्यालय धनुषाले अध्यक्ष यादवले बताएको नम्बर अनुसार प्रदेश २–००१ च १०४७ नम्बरको स्कोरपियोलाई पक्राउ गरेको हो । गाडीलाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अगाडी बढाएको हो ।