रौशन कुमार चौधरी ।
रौतहट । माघ १० गते
रौतहटको ईशनाथ नगरपालिकास्थित एक विद्यालयमा रहेको हनुमान मन्दिर र विद्यालय नजिक रहेको ब्रहमस्थानमा आगजनी भएको छ । ईशनाथ नगरपालिका वडा नं ५ जटहाराटोलस्थित सामुदायिक विधालयको प्राङ्गणमा रहेको हनुमान मन्दिर र विद्यालय नजिक रहेको ब्रहमस्थानमा अज्ञात समूहले आगजनी गरेको छ ।
आगजनीबाट हनुमानको मूर्ति र ब्रह्मस्थानमा क्षति पुगेको छ। घटनाबारे स्थानीयले प्रहरीलाई खबर गरेका थिए । लगत्तै जिल्ला प्रहरी प्रमुख एसपी महेन्द्रकुमार श्रेष्ठ र सशस्त्र प्रहरी प्रमुख एसपी माधव रेग्मी सहितको टोली घटनास्थल पुगेको र छानबिन सुरु गरिएको प्रवक्ता डिएसपी एलिजा गिरीले जानकारी दिइन् ।
जिल्ला प्रहरी प्रवक्ता गिरीले घटनाको पुष्टि गरेकी छन् ।अज्ञात व्यक्तिले पराल राखेर दुवै मन्दिरमा आगजनी गरेको देखिन्छ ।आगजनीबाट क्षतिग्रस्त हनुमानजीको मूर्ति २५ वर्षअघि भारतको राजधानी दिल्लीबाट ल्याएर स्थापना गरिएको स्थानीयले जानकारी दिएका छन् ।
स्थानीयवासीले सामाजिक सदभाव बिगार्न यस्ता अराजक गतिविधि गरिएको आरोप लगाएका छन् । स्थानीय वासीहरुले दोषीलाई खोजतलास गरी कडाभन्दा कडा कारबाही गर्न माग गरेका छन् ।