रौतहट,११ माघ। रौतहटको गढीमाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादवले अव यस पालिकामा आर्थिक तथा प्रशासनिक कार्यमा सुधार आउने बताउनुभएको छ । बिगतमा कर्मचारीका कारण अनियमित तरिकाले रकम भुतmानी दिएको पाईएको र मनलाग्दी किसिमले प्रशासनिक कार्य गरेकाले समस्या निम्तिएको बताउनुभएको हो ।
गढीमाई नगरपालिकाको कार्यकक्षमा संचारकमीहरु संग कुरा गर्दै उहाँले यस पालिकामा सुधार ल्याउन आफुले पहलकदमी भुमिका निर्वाह गर्ने बताउनुभयो । तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादव र लेखा अधिकृत कामेश्वर सहनीका कारण नगरपालिकाको अवस्था दयनिय भएको उहाँले दावी गर्नुभयो । सार्वजनिक खरिद ऐन २०६३ र नियमावली २०६४ अनुसार, कुनै पनि मालसमान खरिद गर्दा टेण्डर गर्नुपर्ने प्रावधान छ । तर, त्यसो गर्दै नगरी मनोमानी ढंगले भुक्तानी गरेर सार्वजनिक खरिद ऐन र आर्थिक कार्यविधि ऐनको गम्भीर उल्लंघन गरी आर्थिक अनियमितता भएको उहाँको भनाई छ ।
तिन महिनाको अवधीमा होटल र विभिन्न संचार माध्यम (मिडिया) लाई ७८ लाख रुपैया भुतmानी दिएको देखिएको छ भने पौने ५ लाख रकम भ्रमण खर्च भएको उहाँले उल्लेख गर्नुभयो । नगरपालिकाले चालु आर्थिक वर्ष २०८०÷८१ मा वडा व्यवस्थापनका लागि ९२ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । तर, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत यादव र लेखा अधिकृत सहनीले कसैलाई थाहै नदिई जनप्रतिनिधिलाई समेत छलेर सो शिर्षकको रकम अन्यत्रै भुक्तानी गरिदिएको पाइएको उहाँले बताउनुभयो ।
वडा व्यवस्थापन खर्च शिर्षकबाट ७७ लाख ८२ हजार ५ सय १४ रुपैयाँ भुक्तानी भइसकेको उहाँको भनाई छ । यो सबै भुक्तानी गत असोजमा भएको देखिएको नगरपालिका प्रमुख प्रशासकीय अधिकृत यादवले बताउनुभयो । उहाँका अनुसार यसै आर्थिक वर्षमा कर्मचारीहरुलाई भ्रमण तथा अनुगमन शिर्षकमा १० लाख बजेट राखिएकोमा गैर कर्मचारी शिव मंगल दासको नाममा कामै नगरी भुक्तानी भइसकेको छ ।
विभिन्न शिर्षकको रकम अनियमित तरिकाले नियम विपरित भुतmानी दिएको पाईपछि नगरपालिका अहिले बजेट विहिन जस्तै बनेको उहाँको तर्क छ । मंसिर १ गते नगरपालिकाको कार्यालयमा हाजिर भएपछि समस्या र चुनौतीका बारेमा थाहा पाएको उल्लेख गर्दै उहाँले समधानका लागि पहल गर्ने बताउनुभयो । यस पालिकाको विकास तथा योजनाका काममा आफनो अवरोध नरहने र नियामनुसार काम हुने समेत उहाँले स्प्रष्ट पार्नुभयो ।
कार्यालयबाट हुने सेवाप्रवाहमा कुनै किसिमको समस्या नहुने बताउँदै उहाँले सवैको साथ, सहयोग र सहकार्य आवश्यक रहेको औल्याउनुभयो । कार्यालयबाट हुने हरेक किसिमका कामहरु पारदर्शी तरिकाले हुने उहाँले दावी गर्नुभयो । उहाँका अनुसार नियम र कानूनले दिएसम्म अधिकतम सहयोग गरीन्छ । गढीमाई नगरपालिकाले लिएको योजना र लक्ष्यलाई आफनो तर्फबाट हुने सहयोगमा कमी नगर्ने उहाँले बताउनुभयो ।
आफू नगरपालिकालाई सुखी, समृद्ध र विकसित नगर बनाउने उद्देश्यका साथ नै कार्यालय प्रमुखको जिम्मेवारी सम्हालन आएको बताउँदै उहाँले जनप्रतिनिधिहरुलाई सहयोग गर्न आग्रह गर्नुभयो । सिरहा गोलबजार मिर्चैयाका यादव यसअघि बझाङ्गको तलकोट गाँउपालिकामा रहनुभएको थियो ।
गढीमाई नगरपालिकाका नगर प्रमुख श्याम प्रसाद यादवले नियम विपरित पालिकाबाट कुनै पनि कार्य गर्न नहुने बताउनुभयो । गढीमाई नगरपालिकाले खर्च कटौती संगै आर्थिक तथा प्रशासनिक कार्यमा विशेष ध्यान दिदै आएको जनाएको छ ।