रौतहट,२० माघ। रौतहटको दुई स्थानबाट वन कर्मचारीले काठ बरामद गरेको छ ।
जिल्लाको वृन्दावन सब-डिभिजन र चेतनगर सब-डिभिजन अन्तर्गतको जङ्गलबाट तस्कर समूहले काठ चोरी तस्करी गरी ल्याइरहेको अवस्थामा वन कर्मचारीले एक जना मानिससहित चार वटा साइकल, चार थान सालको गुलिया र एक थान मोटरसाइकल बरामद गरेको हो ।
वृन्दावन सब-डिभिजन वन कार्यालय अन्तर्गतबाट काठ चोरी तस्करी गरेर लगिरहेको अवस्थामा वन कर्मचारीले तीन थान सालको गोलियाया, दुई थान साइकल र एक थान मोटरसाइकलसहित एक जना तस्कर पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा गढीमाई नगरपालिका-९ इनारवाका राकेश कुमार साह रहेको डिभिजन वन कार्यालय रौतहटले जनाएको छ ।
पक्राउ परेका साहलाई BR-06 BK 5769 नम्बर प्लेटको भारतीय मोटरसाइकलसहित नियन्त्रणमा लिएको जनाएका छ्न ।
शुक्रबार राति करिब ८ बजेको समयमा वृन्दावन सब-डिभिजन वन कार्यालयका जमदार शेख अनवरको नेतृत्वमा खटिएको वनगस्ती टोलीले साहसहित काठ साइकल र मोटरसाइकल बरामद गरेको हो ।
बरामद भएको काठ साइकल र मोटरसाइकल वृन्दावन सब-डिभिजन वन कार्यालयमा ल्याएर राखिएको छ भने, काठसहित पक्राउ परेका साहलाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय चन्द्रनिगापुर पठाइएको वृन्दावन सब-डिभिजन वन कार्यालयका सहायक वन अधिकृत अनिल महतोले जानकारी दिएका छन् ।
यस्तै सब-डिभिजन वन कार्यालय चेतनगर अन्तर्गतको जङ्गलबाट चोरी रीतस्करी गरी ल्याइरहेको काठ वन कर्मचारीले बरामद गरेको छ। शुक्रबार मध्यराति करिब १८ क्युफिटको एउटै सालको गुलिया दुईवटा साइकलमा ल्याइरहेको अवस्थामा वन कर्मचारीले उक्त काठ बरामद गरेको हो । वन कर्मचारीलाई देखेर तस्कर समूह भने भाग्न सफल भएको सब-डिभिजन वन कार्यालय चेतनगरले जनाएको छ।