रौतहट, २३ माघ I व्यवसायीलाई ठगी गरेको आरोपमा जिल्ला सदरमुकाम सिराहास्थित रहेका चन्द्र नमुना माध्यमिक (प्राविधिक) विद्यालयका प्रधानाध्यापक मधुसूदन कर्णलाई प्रहरीले पक्राउ गरेको छ ।
नेपाल आयरन स्टोर्स एन्ड जनरल सप्लायर्सका सञ्चालक सिराहा नगरपालिका–८ निवासी रोशन कुमार यादवले उच्च अदालत जनकपुर, राजविराजमा दायर गरेको ठगी मुद्दाको सुनुवाइको आधारमा प्रहरीले प्रधानाध्यापक कर्णलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिराहाका प्रहरी नायव उपरीक्षक रवीन्द्रराज पाण्डेले बताए ।
‘अदालतको आदेश अनुसार प्र अ कर्णलाई पक्राउ गरिएको हो,’उनले भने, ‘पक्राउ पछि पहिलो चरणमा अदालतबाटै सात दिनको म्याद थप गराइएको छ ।’ उनका अनुसार कानुन बमोजिम कारवाहीका लागि अनुसन्धान प्रक्रिया अगाडि बढाइने छन् ।
विद्यालयको भौतिक निर्माणका लागि सिराहा बजारमा रहेको नेपाल आयरन स्टोर्स एन्ड जनरल सप्लायर्सबाट सिमेन्ट, छड, तार, रंग तथा निर्माणमा उपयोग हुने अन्य सरसमान लिई भुक्तानी दिन आलटाल गर्दै आएको आरोप लागेको थियो । पसल सञ्चालक रोशनकुमार यादवका अनुसार पटक पटक गरी १७ लाख ४ हजार ५ सय ८१ पैसा ४ बराबरको बिल लिई चन्द्र माविका प्रअ कर्णले भुक्तानी दिन आलटाल गर्दै आएको थियो ।
‘पैसा पाउन विद्यालयमा बर्षौ धाए । दिएको समान बापतको पैसा पाउँछु भनेर कयौँ पटक विद्यालयमा गए । कयौँ दिन बित्यो । विद्यालयमा बस्दा कयौँ दिन भोकै बसे,’उनले भने, ‘धेरै प्रयास पछि समान अनुसारको बिल पाएको भनी पत्र दिए पनि भुक्तानी भने दिएन ।’ भुक्तानी पाउन विद्यालयमा कयौँ पटक मौखिक र लिखित रूपमा दिएको निवेदनलाई बेवास्ता गर्न थालेपछि अदालती प्रक्रियामा गएको उनले थपे ।
माग बमोजिम २०७४ साल देखि पटक पटक विभिन्न निर्माण सामग्री दिए अनुरूप चन्द्र माविमा सोको बिल दिएको बताउँदै उनले भने, ‘चन्द्र माविमा पेश गरिएको बिलको भ्याट समेत तिरेर दोहरो मारमा परेको छु ।’
व्यापार घाटा भइरहँदा भुक्तानीका लागि विभिन्न निकायसँग समन्वय गर्दा र धेरै हारगुहार मागे पनि कुनै वास्ता नगरेको उनले दुखेसो पोख्दै भने, ‘न्याय मरेको छैन भन्ने विश्वासका साथ अदालती प्रक्रियामा गएको छु । न्याय पाउँछु भन्ने पूर्ण विश्वास छ ।’
स्रोत : नागरिक मिरर