रौतहट,२५ माघ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई रौतहटमा १०१ किलोको मालाले स्वागत गरिएको छ ।
नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओललीले अहिलेको गठबन्धन सरकारले देशलाई अस्तव्यस्त बनाएको बताएका छन्। जनताको कुनै काम गर्न नसकेको सरकारले आफूले थालेको कामसमेत अलपत्र पारेको उनले अरोप लगाए। अध्यक्ष ओलीले एमालेले सुरु गरेका विकासका आयोजनाहरू गठबन्धन सरकारले पूरा गर्न नसकेको जिकिर गरे।
नेकपा एमाले रौतहटको दशौँ जिल्ला अधिवेशन उद्घाटन गर्दै अध्यक्ष ओलीले एमाले सरकारले बनाएको पोखरा विमानस्थल गठबन्धन सरकारले सञ्चालन गर्न नसकेको बताए।
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल राजनीतिमा आउनुभन्दा पहिला आफू रौतहट आएर राजनीति सुरु गरेको बताउँदै ओलीले माधव नेपालकै कारण रौतहटमा विकास हुन नसकेको आरोप लगाए।
आफ्नो घर भत्काएर गठबन्धन मेरो घर हो भन्दै गएका माधव नेपाललाई गठबन्धनले लात हानेर निकालेपछि उनी घर न घाटका हुने ओलीले बताए।‘अव अर्कोपल्ट माधव नेपालले चुनाव पनि जित्दैनन् । उताका पैसा ल्याएर, कुनै हिसाबले पनि जित्दैनन् । जित्न पनि दिनुहुँदैन ।’
ओलीले एमालेले माधवलाई प्रधानमन्त्री समेत बनाएपनि दुई तिहाइको सरकार ढालेर कांग्रेसको पाउमा सत्ता सुम्पेको आरोप लगाए ।
‘पहिला एमालेका नेता भएका, प्रधानमन्त्री समेत भएका । अहिले त काठमाडौँतिरै छन् । गठबन्धन भत्कन दिन्नँ, गठबन्धन त मेरो घर हो भन्दै हिँड्छन्’ अध्यक्ष ओलीले नेपालको नाम लिँदै भने, ‘हामीले उनलाई प्रधानमन्त्री, उपप्रधानमन्त्री बनायौँ सवैचिज ग¥यौ । तर दुई तिहाइको पार्टी फोड्ने, सरकार ढाल्ने र कांग्रेसको पाउमा लगेर सरकार बुझाउने माधव नेपाल यही जिल्लाका मान्छे गठबन्धन घर हो भन्छन् ।’
विसं २०१५ सालमा एमालेको लालकिल्ला रहेको रौतहटलाई पुन: लालकिल्लाको रुपमा विरासत फर्काउनका लागि उनले एमाले नेता तथा कार्यकर्तालाई निर्देशन दिए। अहिलेको देशको जरजर अवस्थाको कारण गठबन्धन सरकार भएको बताउँदै उनले अब यो सरकारले देश चलाउन नसक्ने उल्लेख गरे।