वर्तमानकाल सम्वाददाता
माघ २८, रौतहट
जिल्ला अदालत रौतटले पहिलो संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा रौतहटको राजपुर गाउँमा भएको बम बिस्फोटको घटनाको आरोपी नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहमद अफताब आलमविरुद्ध दायर मुद्दाका साक्षी झिकाउने आदेश गरेको छ ।
आइतबार भएको आदेशमा घाइतेको फरेन्सी जाँचको प्रतिवेदनसमेत माग गरिएको छ ।
न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासमा आलमको पेसी तोकिएको थियो । १६ वर्ष पुरानो मुद्दाको अन्तिम सुनुवाइका लागि पेसी तोकिएकोमा अझै बकपत्रका लागि साक्षीहरु उपस्थिति नभएकाले झिकाउन आदेश भएको अदालतका श्रेस्तेदार माधव ढोडारीले जानकारी दिए । ’धेरै प्रहरी नै बकपत्रका लागि आएका छैनन्’, उनले भने ’अब सबै साक्षीलाई झिकाउन जिल्ला प्रहरीलाई पत्राचार गर्छौं ।
अदालतले बिस्फोटमा घाइते गौरी शंकररामको स्वास्थ्य परीक्षणको रिपोर्टसमेत मागेको छ ।विस्फोटक पदार्थ प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यानसम्बन्धीको कसूरको मुद्दामा अन्तिम सुनुवाइका लागि पेसी तोकिएको थियो । प्रतिवादीको तर्फबाट अधिवक्ता मोहम्मद मजरुल हक साबिर हुसेन आफताब आलम लालबाबु रायले बहस
गरेका थिए । बादीका तर्फबाट पुष्प पौडेल र जिल्ला न्यायाधिवक्ता बद्रीकुमार कार्कीले बहस गरेका थिए ।
जिल्ला न्यायाधिवक्ता कार्कीले अदालतसमक्ष साक्षी झिकाउन माग गरेका थिए ।अदालतले आलम लगायतका ११ जनाविरुद्ध दायर भएको विस्फोटक पदार्थ बम समेतको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यानसम्बन्धी कसुरमा अन्तिम सुनुवाइका लागि पेसी तोकेको हो ।