वर्तमानकाल सम्वाददाता
फाल्गुन ०४ गते ।
यौन व्यवसायमा संलग्न ४२ प्रतिशत महिलालाई विभिन्न प्रकारका यौन रोगको लक्षण देखिएको एक अध्ययनले देखाएको छ ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले सार्वजनिक गरेको ‘महिला यौनकर्मीबीच एकीकृत जैविक र व्यावहारिक निगरानी सर्वेक्षण’ मा गरिएको अध्ययनमा ४२ प्रतिशतमा यौन रोगको लक्षण देखिएको पाइएको हो । अध्ययनमा सहभागी अनुसन्धानकर्ता प्रतिमा दवाडीले यौन व्यवसायमा संलग्न महिलाहरूमा एचआईभी÷एड्स, हेपाटाइटिस ‘बी’, हेपाटाइटिस ‘सी’ र भिरङ्गीजस्ता रोग देखिएको बताउनुभयो ।
अध्ययनमा यौन रोग लागेका ३४ प्रतिशतले मात्र औषधि सेवन गरिरहेका पाइएको छ । यौन व्यवसायमा लागेका ५५ प्रतिशत महिलाले एचआईभी परीक्षण पनि नगरेको पाइएको छ । परिषद्ले पोखरामा गएको वैशाखदेखि असोजसम्म तीन सय ६४ जनामा यौन व्यवसायमा संलग्न महिलामा अध्ययन गरेको थियो । तीमध्ये विवाहित एक सय ६९, अविवाहित ८१ र सम्बन्धविच्छेद
गरेका ९९ र विधवा १५ जना थिए ।
परिषद्का वरिष्ठ अनुसन्धान अधिकृत डा. मेघनाथ धिमालले धेरै महिलामा एचआईभी/एड्स र शारीरिक सम्बन्धबाट लाग्ने रोगबारे कम जानकारी रहेको पाएको बताउनुभयो । अध्ययनमा धेरैले परिवार पाल्नका लागि यौन व्यवसायमा आबद्ध भएको बताएका अनुसन्धानकर्ता दवाडीको भनाइ छ । अध्ययनमा यौन व्यवसायमा संलग्न ६० प्रतिशतभन्दा बढीले जाँड–रक्सी पिउने गरेको पाइएको छ ।