रौतहट,०२ असार। रौतहटको अलग अलग स्थानमा दुई जना युवकको शव फेला परेको छ ।
दुबै जना युवकलाई कसैले हत्या गरेको हो की, वा आफै मरेको हो वारे घटनास्थलबाट ठोस आधारहरु प्राप्त नभएको हुँदा प्रहरीले गहन रुपमा अनुसन्धान भईरहेको बताइएको हो । शनिवार दिउसो गौर नगरपालिका वडा नम्वर ४ का २० बर्षिय युवक रोहित सहनीको शव लालबैया नदीको वगरमा रहेका केराघारीमा फेला परेका थिए भने गौर नपा ५ का २० बर्षिय युवक राहुल मेहताको शव राजदेवी नगरपालिका स्थित बागमती नदीमा फेला परेको थियो ।
जिल्ला प्रहरी कार्यालय रौतहटको प्रवक्ता एवं डिएसपी एलिजा गिरीले दुबै युवकको शव लालबकैया र वागमती नदीमा फेरा परेर पछि तत्कालै घटनास्थलमा प्रहरी परिचालन गराएर आवश्यक अनुसन्धान गरिएको तथा घटनास्थलमा उपलब्ध भएका प्रमाणका आधारमा हत्या गरिएको आशंका नभएपनि उनी दुबै जना लागु औषधको सेवनकर्ताको रुपमा रहेको केही प्रमाणहरुले पुष्टि गरेको बताए ।
तर के कति कारण दुबै युवकको मृत्यु भएको बारे यथार्थ पत्ता लगाउन एवं अनुसन्धान कार्यमा मद्दत पुग्ने हेतु दुबै जनाको शव पोष्टमार्टमका लागि शिक्षण हस्पताल महराजगंज काठमाडौं पठाइएको जानकारी डिएसपी गिरीले दिइन् । बागमती नदीको झाडीमा फेला परेका राहुल मेहताको शरीरका कपडा तथा चप्पल भेटिएको र मुखबाट रगत बगेको प्रष्ट देखिएकाले उनको हत्या भएको वडा नम्वर ५ का अध्यक्ष शिवशंकर यादवले आशंका गरे ।यसैगरी गौर नगरपालिका ४ मा रहेको लालबकैया नदी किनारको केराघारीमा मृत फेला परेका रोहित सहनीको पनि हत्या भएको हुन सक्ने मृतकको परिवारले आशंका गरेको छ ।
‘हत्या हो वा अन्य कुनै कारणले मृत्यु भएको हो भन्ने बारेमा हामीले अनुसन्धान गरिरहेका छौं, धर्य गरेर बस्न मृतक परिवार संग आग्रह गर्दै डिएसपी गिरीले हामी गहन अनुसन्धानमा छौं यदी अलिकति पनि हत्याको कुरा भेटिएमा त्यस एंगलबाट पनि अनुसन्धान गरेर दाषिलाई नियन्त्रण लिने दाबी समेत गरिन् ।
एक साता अघि मात्रै रौतहटको राजपुर नगरपालिका १ मा ४५ वर्षीय पुरुषको घाँटी रेटेर हत्या गरिएको अवश्थामा शव फेला परेको थियो । अहिले फेरि शनिबार एकै दिन दुई युवकको मृत्युको घटनाले स्थानीय बासिन्दा आतंकित छन् । पछिल्लो समयमा रौतहट जिल्लामा अपराधिक कार्यमा निकै वृद्धि भएको छ । यहाँको अपराध नियन्त्रण गर्न अहिलेको जिल्ला नेतृत्वलाई हम्मे हम्मे परिरहेको श्रोतले बताए । सूचना संकलनको कार्यमा खटाइएका सादा पोशाकका सुरक्षाकर्मीहरु अन्य कार्यमा व्यस्त भएपछि यहाँ अपराध बढेर गएका छन् ।