रौतहट,०३ असार। रौतहटको गरुडा नगरपालिकाकी उपप्रमुख पुनमकुमारी चौधरीले आर्यघाट निर्माणका लागि जग्गा दान गरेकी छन् । हिन्दूहरूका पार्थिव शरीरको दाहसंस्कारका लागि व्यवस्थित बनाउने उदेश्यले आफूले जग्गा दान गरेको उपप्रमुख चौधरीले बताइन् ।
गरुडा नगरपालिका– ४ मा व्यवस्थित रुपमा आर्यघाट निर्माणका लागि निजी स्रोतबाट २ कट्ठा १० धुर जग्गा खरिद गरेर दान दिएको उपप्रमुख चौधरीले जानकारी दिइन् । उपप्रमुख चौधरीले आफ्नो स्वर्गीय पति सञ्चारकर्मी मनोजकुमार चौधरीको नाममा आर्यघाटको नामकरण गर्नका लागि जग्गा दान गरेकी हुन् ।
गरुडामा सञ्चालित रेडियो मधेस मासलाको स्टेशन प्रमुखको रुपमा रहँदै आएका पत्रकार चौधरीको दोस्रो चरणको लहरमा कोरोना भाइरसले २०७८ वैशाख २९ गते उपचारका क्रममा निधन भएको थियो ।
सामाजिक कार्यमा अधिक रुची राख्ने चौधरीको नामले सबैको लाभ हुने कार्यका लागि जग्गा दान दिएको उपप्रमुख चौधरीको भनाइ छ ।
अव्यवस्थित रुपमा हुँदै आएको दाहसंस्कार अब आर्यघाट निर्माण भएपछि व्यवस्थित हुने स्थानीयहरुले बताएका छन् । दान गरिएको सो जग्गामा चारैतिरबाट पर्खाल लगाएर सुरक्षित गर्ने उपप्रमुख चौधरीले बताइन् ।