भ्रष्टाचारविरोधी अभियन्ताको आडमा ठगी गरेको आरोपमा चार जना पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८१ अषाढ ४, मंगलबार (१ साल अघि)
  • ३ पटक पढिएको
भ्रष्टाचारविरोधी अभियन्ताको आडमा ठगी गरेको आरोपमा चार जना पक्राउ

काठमाडौं,०४ असार। गोकर्णेश्वर नगरपालिकामा भ्रष्टाचारविरोधी अभियन्ताको आडमा ठगी गरेको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा गोकर्णेश्वर नगरपालिका-६ का ३१ वर्षीय राजु सुनार, गोकर्णेश्वर-८ का २६ वर्षीय आदर्श क्षेत्री, गोकर्णेश्वर नगरपालिका-१ की २० वर्षीया अस्मिता खत्री र गोकर्णेश्वर-२ का ४५ वर्षीय प्रेमप्रसाद श्रेष्ठ छन्। उनीहरूलाई सोमबार गोकर्णेश्वर नगरपालिकाबाट पक्राउ गरिएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारीका अनुसार, पक्राउ परेकाहरूले गैरकानूनी रूपमा ‘बेथिति एवं भ्रष्टाचारविरुद्धको अभियान २०८०’ नामक संस्था स्थापना गरी गोकर्णेश्वर नगरपालिकाभित्र विभिन्न वडामा शाखा विस्तार गरेका थिए। यस संस्थाको आडमा उनीहरूले विभिन्न सरकारी कार्यालय, स्थानीय तह, विद्यालय, संघसंस्था, कम्पनी, कलकारखाना, तथा विभिन्न टोल सुधार र उपभोक्ता समितिहरूमा गएर आफूहरू भ्रष्टाचारविरोधी अभियन्ता भएको भन्दै धम्क्याउने गर्थे।

“तिमीहरूको विरुद्धमा भ्रष्टाचार गरेको, कर छली गरेको, आर्थिक अनियमितता गरेको भन्ने उजुरी हामी कहाँ परेको छ, त्यस विषयमा छानबिन गर्न आएका हौं, हामीलाई सबै हिसाबकिताब देखाऊ,” भन्दै असम्बन्धित सूचना माग्ने, पदाधिकारी तथा कर्मचारीहरूलाई धम्क्याउने, मुद्दा हालिदिन्छु भन्ने गरेको पाइयो,” एसपी अधिकारीले भने।

उनीहरूले भिडियो बनाई रकमसमेत असुली गरेको, पुष्टि नभएका कुराहरूलाई सामाजिक सञ्जालमा राखेर चरित्र हत्या गरेको उजुरी परेपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। यस मामिलामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरी वृत्त बौद्धले यस घटनामा संलग्न थप व्यक्तिहरूको खोजी तथा अन्य जानकारी संकलन गरिरहेको एसपी अधिकारीले बताए।

ताजा अपडेट

खोजी गर्नुहोस