रौतहट,०४ असार। रौतहट प्रहरीले मोटरसाइकल चोरलाई समात्न नसक्दा पछिल्लो समय रौतहटमा मोटरसाइकल चोरीको घटनामा वृद्धि भएको छ । प्रहरीले पहिचान भइसकेका चोरलाई समेत पक्राउ गर्न नसक्दा चोरहरुको मनोवल झन बढेको पाइएको छ ।
जिल्लाका प्रहरी प्रशासनको लापरबाही र कमिकम्जोरीका कारण जिल्लामा दिनदहाडै मोटरसाइकल चोरि हुन थालेको छ । जिल्लाको गरुडा आसपासमा सबभन्दा बढी मोटरसाइकल चोरी हुने गरेको छ । पत्रकार ओम प्रकाश यादवको १५० सिसिको नयाँ मोटरसाइकल चोरी भएको घटना सेलाउन नपाउदै मलाहिटोलबाट समेत दुइवटा मोटरसाइकल चोरी भएको छ ।
तीन साता अघि मध्यान्ह दैनिकका पत्रकार ओम प्रकाश यादवको १५० सिसिको प्रदेश-२-०३-०१८प ९४६५ नम्बरको नयाँ पल्सर मोटरसाइकल गरुडाबाट नै दिउँसो ३ बजे चोरी भएको थियो । त्यस्तै तीन दिन अघि रातिको समयमा मलाहिटोलका कृष्ण कुमार सहनिको कम्पाउण्डमा पार्किङ गरि राखिएको अवस्थामा दुई वटा मोटरसाइकल चोरी भएको थियो ।
यसरि एक पछि अर्को मोटरसाइकल चोरीको घटना हुँदा पनि रौतहट प्रहरी अझै एक जना पनि चोरलाई पक्राउ गर्न सकेका छैनन् । पत्रकार यादवको मोटरसाइकल कटहरिया नगरपालिका-१ भसेढ्वाका सन्दिप कुशवाहाले चोरी गरेको सिसिटिभि फुटेजमा देखिएको छ । सिसिटिभिको प्रमाण सहित आफ्ना गाडी भसेढ्वाका सन्दिप कुशवाहाले चोरी गरेको भन्दै चोर समात्न पत्रकार ओम प्रकाश यादवले इलाका प्रहरी कार्यालय गरुडामा किटानी जाहेरी दिएपनि प्रहरीले झै चोरलाई पक्राउ गर्न सकेका छैनन ।
चोर कुशवाहा पहिलादेखी नै मोटरसाइकल चोरी गर्दै आएको र उनी ठूलो मोटरसाइकल चोर रहेको पत्रकार यादव बताउछन । जिल्लाको विभिन्न ठाउँबाट मोटरसाइकल चोरी गरेर मौलापुर र निजगढ मोटरसाइकल गैरेजमा लगेर कुशवाहाले नयाँ गाडिको पार्ट पुर्जा पुरानो गाडीमा लगाएर निकै सस्तो मुल्यमै गाडी बेच्ने गरेको स्रोतको भनाइ उदृत गर्दै पत्रकार यादव बताउछन । कुशवाहा संग मोटरसाइकल चोरको ठूलो गिरोह रहेकोले उनी पक्राउ परेपछि मोटरसाइकल चोरको ठूलो गिरोहको पर्दाफास हुने उनी बताउछन । यसरि पहिचान भइसकेका चोरलाई समेत प्रहरीले पक्राउ गर्न नसकेका कारण जिल्लामा मोटरसाइकल चोरको बिगबिगी बढेको छ भने अर्को तर्फ चोरको मनोवल समेत बढेको छ ।
नेपाली बजारमा चार लाख रुपैयाँसम्म पर्ने मोटरसाइकल चोरी गरेर बेच्दा ४० हजार र त्यसभन्दा सस्तोमै पाइन थालेपछि चोरीका मोटरसाइकल चढनेहरू बढेका हुन्। विगत केही वर्षअघि प्रहरीले चोरीका मोटरसाइल जफत गरेता पनि हाल प्रहरीले सक्रियता नबढाउदा चोरीका मोटरसाइकल बिक्री गर्ने र चढ्नेको हौसला बढेको हो। दुई लाखदेखि चार लाखसम्म पर्ने मोटरसाइकल यहाँ २० हजारदेखि ४० हजार रुपैयाँसम्म कन्डिसन हेरेर पाउँन सकिने स्थानीय बताउँछन्।
नेपाली युवा माझ निकै लोकप्रिय रहेको बजाज कम्पनीको पल्सर र रोयल इन्फिल्ड मोटरसाइकल भारतबाट चोरी गरी नेपाल भित्र्याउने गिरोह र चोरी गाडीको किनबेच गर्ने नेपाली गिरोहबीच मिलोमतोमा उक्त धन्दा चल्ने गरेको स्थानीयहरुको दावी छ। मोटरसाइकल चोरी गर्नेले मोटरसाइकल चोरी गरेपछि त्यसको सबै पार्ट पुर्जा फेरेर अर्को गाडिमा हालेर ३ देखि ४ लाख सम्मको गाडी २० देखि ४० हजारमै बेच्ने गरेको स्रोतको भनाइ छ । भसेढ्वा, झौवा, जंगलसैया आदि क्षेत्रहरूमा यस्ता मोटरसाइकल चलाउने प्रशस्तै रहेका छन्।
‘बिना कागजपत्रको मोटरसाइकल किन्दा आर्थिक, नैतिक र कानूनीजोखिम मोल्नु पर्ने भए पनि २० हजार देखि ४० हजारमा चोरीका गाडी पाइन्छ’ चोरीका मोटरसाइकल चलाउने एक व्यक्ति भन्छन्, ‘त्यसको सबै सामान नेपाली वास्तविक नम्बर रहेको पुरानो मोटरसाइलमा हालेपछि गाडी नयाँ भइहाल्छ।’ त्यसपछि त्यो चोरीको गाडीमा पुराना सामान हालेपछि त्यो चोरीको गाडी पनि बीस हजारमा बेच्न सकिने उनीहरू बताउँछन्।
उनी थप्छन्, ‘यसरी चार पाँच गुना फाइदा हुने भएपछि पाएसम्म कसले किन्दैन र? न समातिने डर न मोटरसाइकलको पार्टपूर्जा डुप्लिकेट पर्ने डर।’ गरुडा आसपासमा मोटरसाइकल चोरी गरी ल्याउँने गिरोहको सक्रियता निकै बढ्दै गइरहे पनि हालसम्म भने प्रहरीले कुनै पनि मोटरसाइकल चोरी गर्ने गिरोहलाई पक्राउ गर्न सकेका छैनन्।