वीरगञ्ज ,०७ असार। जिल्ला प्रहरी कार्यालय पर्साले मालबाहक ट्रकमा लागु औषध ओसारपसार गरिरहेको अवस्थामा तीनजनालाई पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा वीरगञ्ज महानगरपालिका वडा नम्बर २१ हनुमानचोकमा चेकजाँच गर्दा प्रहरीले लागुऔषध फेला पारेको हो । बा.प्र.०३–००१ ख १९९८ नम्बरको मालबाहक ट्रकलाई रोकी तलासी गर्दा प्रतिबन्धित लागु औषध फेला परेको पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक भारतीले जानकारी दिए ।
उनकाअनुसार चालक बस्ने सिट पछाडीको सिटमुनी दुई वटा मलको बोरा भित्र लुकाई राखिएको एक सय मिलिलिटरको २२२ बोत्तल ओनरेक्स फेला परेको हो ।
लागुऔषधसहित मकवानपुरको हेटौडा उपमहानगरपालिका वडा नम्बर ७ निवासी ३२ वर्षीय अजय रोक्का, सोही ठाउँका ३० वर्षीय दिपेन्द्र अधिकारी र वीरगञ्ज महानगरपालिका वडा नम्बर २ निवासी १९ वर्षीय विकास सर्राफलाई पक्राउ गरिएको भारतीले जानकारी दिए ।
पक्राउ परेका अभियुक्तहरू विरुद्ध लागु औषध सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिइ अनुसन्धान भइरहेको भारतीको भनाई छ ।