वर्तमानकाल सम्वाददाता
असार १० गते ।
जीतपुरसिमरा उपमहानगरले आगामी आर्थिक वर्षका लागि २ अर्ब १० करोड ५० लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । एमाले वडाध्यक्षहरूको विरोधका बाबजुद उपमहानगरले सोमबार नीति तथा कार्यक्रम पास गरी आगामी आर्थिक वर्षको बजेट ल्याएको हो । सोमबार तेस्रो पटक बोलाइएको नगरसभा बैठकमा गणपूरक सङ्ख्याका आधारमा नीति तथा कार्यक्रम पास भएको नगरप्रमुख राजन पौडेलले जनाए । उपमहानगरले आगामी आर्थिक वर्षका लागि चालु आर्थिक वर्षको तुलनामा ५७ करोड ३ लाख रुपैयाँ कमको बजेट ल्याएको हो ।
उपमहानगरले विगतको घाटा बजेटलाई कटौती गरेर वास्तविक बजेटमात्रै विनियोजन गरेको नगरप्रमुख पौडेलले जनाए । चालु आर्थिक वर्ष (२०८०÷०८१)का लागि २ अर्ब ६७ करोड ५३ लाख रुपैयाँको बजेट ल्याइएको थियो । जसमा चालुतर्फ १ अर्ब २४ करोड ५५ लाख र पुँजीगततर्फ १ अर्ब ४३ करोड ५२ लाख ४४ हजार विनियोजन गरेको थियो । नगरप्रमुख पौडेलले आगामी आर्थिक वर्षका लागि सार्वजनिक गरेको बजेटमा आर्थिक विकासको लागि कृषि, सामाजिक विकास, पूर्वाधार विकास अन्तर्गत ठुला र बहुवर्षीय योजनालाई प्राथमिकता दिने उल्लेख छ ।
वातावरण, भू–संरक्षण तथा विपद् व्यवस्थापन, सार्वजनिक सेवा प्रवाह तथा सुशासनलाई बजेटले प्राथमिकतामा
राखेको उपमहानगर प्रमुख पौडेलको भनाइ छ । आगामी आर्थिक वर्षमा जीतपुरसिमरा अस्पताल, विद्यालय, स्वास्थ्य चौकी, कालोपत्रे लगायतका ठुलो बजेटका योजना सम्पन्न हुने भएकाले वडाको बजेट घटाएको उपमहानगरले जनाएको छ ।
नगरप्रमुखले सार्वजनिक गरेका ठुला योजनाहरूमा वडा नं २, ६, ७, ८, १६ नं का वडाध्यक्षले विरोध जनाएका छन् । तर यसअघि थोरै बजेट पाएका वडाध्यक्षले भने नगरप्रमुखको योजनामा सहमति जनाएका छन् ।
जीतपुरसिमरामा कुल १२५ जना नगरसभा सदस्यमध्ये हाल १२२ जना कायम छन् । जसमा एमालेबाट उपप्रमुखसहित ६९ जना, कांग्रेससँग २३ जना, माओवादी केन्द्रसँग नगरप्रमुख सहित २० लोसपासँग ६ र नेकपा एकीकृत समाजवादीसँग ४ जना कायम छन् ।
सोमबार तेस्रो पटक बसेको नगरसभा बैठकमा २५ प्रतिशत नगरसभा सदस्यले हस्ताक्षर गरेको जनाइएको छ । नगरप्रमुख निकट स्रोतका अनुसार ३१ जना सदस्य भए गणपूरक पुग्ने भए पनि ३६ जनाले हस्ताक्षर
गरेका छन् ।