बारा,१२ असार। बाराको कलैयामा रहेको रामराजा मोहन विक्रम शाह बहुमुखी क्याम्पसका प्रमुख हिरभुषण कुशवाहाको हत्यामा संलग्न ७ जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा आदर्शकोतवाल गाँउपालिका वडा नम्बर २ निवासी महन्थ महतोका छोरा ३२ वर्षीय अवधलाल प्रसाद कुशवाहा, जितन महतोका छोरा २९ वर्षीय चानंदसी कुशवाहा, प्रेमलाल साहका छोरा २७ वर्षीय श्रवणकुमार साह, सियाराम राउत कुर्मीका छोरा ३४ वर्षीय राधेश कुमार पटेल, रामचन्द्र राउतका छोरा ५४ वर्षीय बिनोद राउत कुर्मी रहेका छन्।
यस्तै, कलैया उपमहानगरपालिका वडा नम्बर १० मटिअर्वाका मोहन रामका छोरा ५० वर्षीय ब्रह्मदेव राम (उपनाम आम्रपाली), करैयामाई गाँउपालिका वडा नम्बर ७ पिपराका महादेव साह थारुका छोरा ५० वर्षीय मोतिलाल चौधरी पनि पक्राउ परेका छन्।
प्रहरीले हत्यामा प्रयोग भएको बा. ३२ प ७०५५ नम्बरको मोटरसाइकल, ना. ५९ प ४७८९ नम्बरको मोटरसाइकल, ना. ३३ प ५४६२ नम्बरको मोटरसाइकल, ६ राउण्ड गोली, विभिन्न मोबाइल, ल्यापटप, नेपाली तथा भारतीय सिम कार्डहरु बरामद गरेको छ।
क्याम्पस प्रमुख कुशवाहाको हत्या गत जेष्ठ ३२ गते आदर्शकोतवाल गाँउपालिका वडा नम्बर २ खजुरियाबाट कलैया तर्फ आउँदै गर्दा वडा नम्बर ३ बतरामा अज्ञात समूहले गोली प्रहार गरेको थियो। गोली प्रहारबाट गम्भीर घाइते भएका कुशवाहाको वीरगञ्ज स्थित वयोधा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो।
पक्राउ परेका सातै जनालाई कर्तव्य ज्यान र हातहतियार खरखजाना मुद्दामा बारा जिल्ला अदालतबाट ७ दिनको म्याद लिई थप अनुसन्धान भईरहेको र फरार प्रतिवादीहरुको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरिक्षक दधिराम न्यौपानेले बताएका छन्।