काठमाडौँ,१२ असार। मनसुनजन्य घटनामा परी एकै दिन १६ जनाको ज्यान गएको छ। राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढी, पहिरो र चट्याङमा परी उनीहरूको मृत्यु भएको हो।
पहिरोमा परी ८ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन्। पहिरोमा परेर सबैभन्दा धेरै लमजुङमा ५ जनाको ज्यान गएको छ। यस्तै कास्कीमा २ तथा संखुवासभामा १ जनाको मृत्यु भएको छ। चट्याङबाट ७ जनाको मृत्यु र तीन जना घाइते भएका छन्।
झापा र रोल्पामा दुई/दुई तथा सुनसरीमा १ जनाको चट्याङले मृत्यु भएको हो। चट्याङ लागेर कैलालीमा पनि आज बिहान दुई जनाको ज्यान गएको छ। बाढीमा परी मोरङमा १ जनाको मृत्यु भएको छ भने २ जना बेपत्ता तथा एक जना घाइते छन्।
ओखलढुंगाको चिसंखुगढी गाउँपालिका ५ सेर्ना थुम्कीमा पहिरोमा परी घाइते भएका २ जनालाई हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौँ ल्याइएको प्राधिकरणले जनाएको छ।
मनसुन भित्रिएपछिको १७ दिनमा विपदजन्य घटनामा ३४ जनाको मृत्यु भइसकेको छ।