ओमप्रकाश यादव
रौतहट,१५ असार। रौतहट देशभर सहित रौतहटमा पनि शनिवार २१ औं राष्ट्रिय धान दिवस मनाइएको छ ।कृषि ज्ञान केन्द्र रौतहटको आयोजनामा गरुडा नगरपालिका-५ महम्मद्पुमा यस वर्षको धान दिवस धान रोप्दै, दहि, चिउरा र आँप खाएर मनाइएको छ ।
गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनि प्रसाद जयसवाल, कृषि ज्ञान केन्द्र रौतहटका प्रमुख सुरेन्द्र प्रसाद कुर्मी, गरुडा नगरपालिकाका नगर प्रमुखका प्रत्यासी बृज किशोर यादव, नेता राम भरोस यादव लगाएतका व्यक्तिहरुले जमीनको हिलोमा धानको बेर्ना रोपि धान दिवस मनाएका हुन ।
“जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि” भन्ने मूल नाराका साथ धान दिवस मनाइएको हो ।राष्ट्रिय धान दिवस यस दिन कृषि क्षेत्रसँग सम्वन्धित सङ्घ संस्थाले विभिन्न कार्यक्रम गरी मनाउदछन्। यस दिनलाई रोपाई महोत्सवका रूपमा समेत मनाउने गरिन्छ। मानो रोपेर मुरी फलाउने दिनका रूपमा यस दिन अधिकांस स्थानमा रोपाई गरी धान दिवस मनाउने गरिन्छ।
कृषि मन्त्रालयल सहित विभिन्न कृषि क्षेत्रमा काम गर्ने सङ्घ संस्थाले धान रोपाई गरी यो दिवस मनाउने गर्दछन्। खेतमा रोपाई गरी दही, चिउरा खाने भएकाले यस दिनलाई दही चिउरा खाने दिनका रूपमा समेत लिने गरिन्छ।कृषि प्रधान हाम्रो मुलुकमा खाद्य सुरक्षाको प्रमुख आधारको रूपमा रहेको धानको उत्पादनलाई महत्त्व दिँदै सरकारले असार १५ लाई राष्ट्रिय धान दिवसका रूपमा मनाउने गरेको छ।
कार्यक्रममा बोल्दै गरुडा नगर प्रमुख कन्थमनि प्रसाद जयसवालले सरकारले आजका दिनलाई दिवसका रूपमा मनाउदै आएपनि आधुनिक प्रविधि आम किसानमाझ पुग्न नसकेका कारण खेतीयोग्य जमिन भएर पनि धान उत्पादनमा वृद्वि हुन नसक्नु दु:खद भएको बताएका छन् । नेपाल कृषि प्रधान देश भएको र तराइ मधेशलाई अन्नको भण्डारको रूपमा चिन्ने गरिएको भएपनि प्रयाप्त मात्रामा धान उत्पादन हुन नसक्दा भारत लगाएत देशबाट खाद्यान्न आपूर्ति गर्नुपर्ने अर्थात चामल किन्नुपर्ने बाध्यता रहेको मेयर जयसवालले बताए ।
देशलाई चाहिने जति धान आफ्नै देशमा उत्पादन गर्न सक्ने खालको योजना ल्याउन तिनै तहको सरकारले कुनै कसर बाकी राख्न नहुनेमा मेयर जयसवालले जोड दिए । यहाँका किसानलाई कृषिमै आत्मनिर्भर बनाउन सके देशलाई बाहिर बाट खाद्यान्न आयात गर्नुपर्ने समस्याको अन्त्य हुने भएकोले किसानलाई कृषिमा आत्मनिर्भर बनाउन तिनै तहको सरकारले कृषिमा लगानी गर्न विशेष ध्यान दिनुपर्ने आवस्यकता रहेको उनले बताए ।
त्यस्तै कार्यक्रममा कृषि ज्ञान केन्द्र रौतहटका प्रमुख सुरेन्द्र प्रसाद कुर्मीले धानको उत्पादन र उत्पादकत्वमा वृद्धि गर्न जलवायुमैत्री प्रविधिको अनुसन्धान र विकासमा सरकारले विशेष ध्यान दिनुपर्ने आवश्यक रहेको बताएका छन् ।“जलवायु परिवर्तनका कारण धानलगायत बालीहरूमा परेको नकारात्मक असर न्यूनीकरण गरी उत्पादन र उत्पादकत्वमा वृद्धि गर्न जलवायुमैत्री प्रविधिको अनुसन्धान, विकास र प्रसार सरकारको प्राथमिकतामा रहेको कार्यालय प्रमुख कुर्मिले बताए ।
खडेरी तथा प्राकृतिक प्रकोप, मलबिउको अभाव, सिँचाइमा समस्यालगायत कारणले उत्पादनमा घटिबढी हुने गरेको भएपनि धानको उत्पादन बढाउन स्थानीय सरकारले समेत कृषिलाई प्राथमिकता दिनुपर्नेमा उनले जोड दिए । कार्यक्रममा नेकपा एकीकृत समाजवादी पार्टीका नेता बृज किशोर यादवले सरकारले कागजमा मात्र दिवस मनाउने गरेको आरोप लगाएका छन । धान उत्पादन गर्न किसानलाई समयमा मलखाद, उन्नत जात्को बिउ र पानीको समस्या रहेको भएपनि सरकारले किसानको समस्या समाधान गर्न उदासिन रहेको नेता यादवले बताए ।
देशमा तिन तहको सरकार भएपनि किसानको मलखाद, बीउ र पानीको समस्या समाधान हुन नसक्नु दु:खद भएको उनले बताए । नेपालमा ८५ प्रतिशत खेतीयोग्री जग्गा रहेपनी अरु देशमाथी परनिर्भर रहनुपरेको रहेको अवस्थालाई अन्त्य गर्न उनले तिनै तहको सरकारलाई कृषिमा विशेष लगानी गर्नुपर्नेमा जोड दिए ।कार्यक्रम सञ्चालन प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ कार्यालय सर्लाही र जोन कार्य क्षेत्र रौतहटका कृषि प्राविधिक सत्रुधन महतोले गरेका थिए ।