वर्तमानकाल सम्वाददाता
असार १५ गते ।
रौतहटको गरुडा नगरपालिका स्थित जयनगर चोक नजिक यात्रुबाहक बस दुर्घटना हुँदा एक किशोरीको मृत्यु भएको छ भने १२ जना यात्रु घाइते भएका छन् । गौरबाट विरगंज तर्फ गईरहेका ना.७ खं ८४१४ नम्वरको यात्रुबाहक बस गौर चन्द्रपुर सडक खण्ड अन्तर्गत गरुडा नगरपालिका वडा नम्वर १ स्थित जयनगर चोक नजिकै शनिवार विहान ७.४५ बजेको समयमा अनियन्त्रित भई सडकमै पल्टिदा माधवनारायण नगरपालिका वडा नम्वर ३ भेल्हीका शैलेन्द्र कुमार गिरीको १८ बर्षिया छोरी नेहा कुमारी गिरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएका हुन् ।
दुर्घटनामा परेर अन्य १२ जना यात्रुहरु घाइते भएको छ । घाईतेहरु मध्ये पाँच जनाको अवस्था अली गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको हो । गौर नपा १ का नरेश दासको २६ बर्षिया श्रीमती रन्जु देवी दास, निजको ५ बर्षिया छोरी शिवानी कुमारी दास, ३ बर्षिया छोरी सुहानी कुमारी दास, गौर १ कै मधुकुमारी दास, परोहा नपा ३ तेजापाकडका १६ बर्षिय देवन्सकुमार दास, भारत मधुबनी बासोपटी गोगीटोल ३ का ४७ बर्षिय अभिनाश झा, निजको श्रीमती निकी झा, सोही स्थानका ६५ बर्षिया सुधिरा झा, गौर नपा ४ का २६ बर्षिय राकेशप्रसाद चन्द्रवंशी, ६४ बर्षिय रामस्वरुप साह, रामदयाल साह, गौर नपा ७ का ४० बर्षिया मन्जु देवी साह सहितको उपचार झाँझ पुल स्थित ग्राण्डी अस्पतालमा भईरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाए ।
दुर्घटनाको खवर पाउना साथ इलाका प्रहरी कार्यालय गरुडा र शिवनगरबाट प्रहरी टोली खटेर घाइतेहरुको उद्धार गरेर स्थानीय ग्राण्डि सहित विभिन्न अस्पतालमा उपचार भईरहेको रौतहट प्रहरीका प्रवक्ता एवं डिएसपी एलिजा गरीले जानकारी दिइन् । रौतहट चन्द्रपुर नपा ८ मोतिपुरका ३९ बर्षिय बस चालक सहदेव चौधरीलाई इलाका प्रहरी कार्यालय चन्द्रपुरले नियन्त्रणमा लिएर बताउदै डिएसपी गिरीले बस अत्याधिक गतिमा गुडिरहदा ओभरटेक गर्ने क्रममा अनियन्त्रित भएर सडकमै पल्टिएर दुखद घटना भएको उनले बताइन् ।
यसैबीच, बस दुर्घटनामा परेर ग्राण्डि अस्पतालमा उपचार गराईरहेका मध्ये गम्भीर रहेका पाँच जनाका अभिभाकले रेफर गर्न माग गरिरहदा पनि ग्राण्डी अस्पतालले रेफर नगर्दा तनावपूर्ण अवस्था बनेको छ । प्रहरीको उपस्थितिमा उपचारको उचित प्रबन्ध नहुँदा ग्राण्डी अस्पतालको मनोमानी चलेको पिडित विरामीहरुले गम्भीर आरोप लगाए ।