वर्तमानकाल सम्वाददाता
असार २७ गते ।
साइबर ह्याकरहरूले गरेको एउटा भयानक साइबर आक्रमणबाट करिब १० अर्ब पासवर्ड लिक भएका छन् । त्यसमा विश्वभरका प्रयोगकर्ताका डेटा लिक भएका हुन् । ओबामा केयर नामक ह्याकरले ९ अर्ब ९४ करोड ८५ लाख ७५ हजार ७३९ पासवर्ड ब्रिच फोरममा लिक गरिदिएको हो । उक्त फाइलको नाम rockyou2024 हो, जसलाई इन्टरनेटमा पोस्ट गरिएको छ ।
ती मध्ये कैयन् पासवर्डहरू विश्वका विभिन्न सेलिब्रेटीका समेत रहेका छन् । फोर्ब्सका अनुसार साइबर आक्रमणमा यतिधेरै पासवर्ड एकसाथ चोरी तथा लिक भएको यो पहिलोपटक हो । साइबरन्यूज डटकम अनुसार obmacare नामका एक प्रयोगकर्ताले जुलाई ४ मा साइबर फोरममा एउटा फाइल पोस्ट गरेको छ । उक्त फाइलको नाम rockyou2024.txt हो, जसमा विभिन्न डेटाहरु संलग्न छन् ।
विभिन्न सेलिब्रेटी लगायतका अनलाइन अकाउन्ट ह्याक गरेर ह्याकरहरुले ती विवरणहरु प्राप्त गरेका हुन् । यसमा सन् २०२१ देखि सन् २०२४ सम्मको अवधिमा लिक गरिएका पासवर्डहरु सामेल छन् । rockyou2024 ले पहिलोपटक साइबर आक्रमण गरी डेटा लिक गरेको होइन । रिपोर्ट अनुसार यसअघि पनि उसले करीब ८ अर्ब ४० करोड पासवर्ड लिक गरेको थियो ।
पछिल्लो घटनाले विश्वभरका आम इन्टरनेट प्रयोगकतामा साइबर आक्रमणको जोखिम बढाएको छ । लिक भएका विभिन्न अकाउन्टका क्रेडेन्सियलहरुका आधारमा उनीहरुका अनलाइन अकाउन्टमा अन्य व्यक्तिले अनधिकृत रुपमा पहुँच स्थापित गर्ने खतरा रहेको छ । त्यसैले आफ्ना अनलाइन अकाउन्टहरुको पासवर्ड रिसेट गर्न, टू फ्याक्टर अथेन्टिकेसनको प्रयोग गर्न र पासवर्ड म्यानेजरको उपयोग गर्न साइबर विज्ञहरुको सल्लाह छ ।