रमेश कुमार यादब
असार २८ गते ।
गढिमाई नगरपालिकाको सिंगारमन धर्मपुरमा बस पल्टिदा दुई जनाको मृत्यु भएको छ । रौतहट जिल्लाको देवाहीगोनाही नगरपालिका–९ धरहरीबाट जन्ती सकाएर सर्लाहीको चक्रघाटा गाउँ फर्किने क्रममा गढिमाई नगरपालिका–६ सिंगारमन धर्मपुरमा अचानक बस पल्टिदा १२ जना मध्ये दुई जनाको मृत्यु भएको छ भने अन्य थुप्रै जन्तीहरु घाइते भएका छन्। शुक्रबार बिहान करिब ९ बजेको समयमा बस दुर्घटना भएको स्थानीयहरुले बताएका छन ।
स्थानिय प्रत्यक्षदर्शीका अनुसार बसको तीव्र गतिका कारण चालकले नियन्त्रण गुमाउँदा बस पल्टि खाई सोहि सडकको छेउमा रहेको नहरमा खसेको बताईएको हो । उक्त बसमा सवार दुई जनाको घटनास्थलमा नै मृत्यु भएको हो दुर्घटनामा परी मृत्यु हुनेमा काठमाडौं घर भएका ५५ बर्षीय कुल बहादुर श्रेष्ठ र सर्लाही चक्रघट्टा गाउँपालिका -३ सुन्दरपुर बस्ने रबिन्द्र पंडितको छोरी बर्ष ७ की स्वेता पंडित रहेको जिल्ला प्रहरी प्रमुख एसपी दिलीप घिमिरेले बताए ।
घाइतेहरु मध्ये केहीको अवस्था गम्भीर रहेको र उनीहरुलाई नजिकैको अस्पतालमा उपचारको लागि पठाइएको छ भने मृत्क दुई जनालाई पोष्टमार्टमको लागी प्रादेशिक अस्पताल गौरमा पठाईएको घटना स्थलमा पुगेका पत्रकार पवन कुमार उपाध्यायले बताएका छन ।
घटनाको खबर पाए लगतै प्रहरी र उद्धारकर्मीहरु घटनास्थलमा पुगेका थिए । घाइतेहरुलाई प्राथमिक उपचार प्रदान गरी नजिकैको अस्पतालमा पठाइएको छ । स्थानीय बासिन्दाहरुले पनि उद्धारकार्यमा सहयोग गरेका थिए। बस दुर्घटनाको कारणबारे विस्तृत जानकारी अझै प्राप्त भएको छैन । प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ । दुर्घटनाका कारण र बसको मर्मतसम्भारको अवस्थाबारे जानकारी लिइरहेको छ । दुर्घटनामा परी मृतकका परिवारलाई गहिरो दुःख लागेको छ भने घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरिँदैछ ।