रौतहट,३१ असार। नारायण–मुग्लिन सडकखण्डको सिमलतालमा शुक्रबार भएको बस दुर्घटनामा रौतहटको बौधिमाई नगरपालिका र गरुडा नगरपालिका– ९ सिसवा शोकमग्न भएको छ ।
जिल्लाको बौधिमाई नगरपालिका वडा नम्बर ३ मटिअर्वाका ५८ वर्षीय परशुराम साह बनियाँ, ५५ वर्षीय मिना देवी साह, २५ वर्षीयसरोज साह, २४ वर्षीया रिङ्कु देवी साह र २८ वर्षीय नरेश साह बेपत्ता भएका छन् । उनीहरु एकै परिवारका हुन् । छोरी रिंकु र ज्वाई नरेश भारत बिहार पूर्वी चम्पारण जिल्ला पताही थाना बखरीबजार वितछवा गाउँका हुन् ।
परशुरामको कान्छो छोरा कृष्णनन्दन साह नेपाली सेनामा भर्ना भएपछि पासआउट भएको अवसरमा परिवारका सदस्यहरु यही असार २६ गते काठमाण्डु गएका थिए । गाउँबाट नै काठमाण्डु जाने गणपति डिलक्स बसमा गएका साह २७ गते सोही बसबाट फर्किदै थिए ।
बौधिमाई नगरपालिकाका नगरप्रमुख प्रदीप कुमार यादवले गाउँनै शोकमा डुबेको बताए । उनले बौधिमाई नगरपालिकाको भुवालि चौकसम्म चल्ने गणपति डिलक्स बसमा टिकट काटेका १० जना र उनीहरुको आफन्त भारतीय एक जनाको पहिचान भएको जानकारी दिए । परिवाससँगै यात्रा गरिरहेका परसुरामका माइला छोरा सरोज भने दुर्घटनामा जोगिएको छ । उनी बसबाट हामफालेर दुर्घटनामा जोगिए । उनीसँगै अन्य दुई जना पनि दुर्घटनाबाट जोगिए ।
त्यस्तै, गरुडा नगरपालिका वडा नम्बर ९ सिसवा टोलका ५० वर्षीय जुगेश्वर राय यादव भने दुर्घटनाबाट जोगिएको ७ वर्षीय छोरा अशोक यादव, २७ वर्षीया छोरी अमृता यादव, ढाई वर्षीय नाति शिवशंकर यादव र डेढ वर्षीया नातिनी दुर्घटनामा बेपत्ता छन् । एकै परिवारका चार जना बेपत्ता भएपछि सिसवा पनि शोकमा डुबेको छ । दुर्घटनामा बेपत्ता हुनुभएको चार जना एकै परिवारका छन् । उनीहरु उपचार गराउन यही असार २० गते काठमाण्डु गएका थिए ।
सरकारी र नीजि अस्पतालमा उपचार गराएर उनीहरु २७ गते गणपति डिलक्सबाट घर फर्किदा दुर्घटनामा परेर बेपत्ता भएको छ । जुगेश्वरका श्रीमती उमादेवी यावद अचेत अवस्थामा छिन् भने १८ वर्षीय जेठा छोरा छिनछिनमा मुर्छित छन् । ७ वर्षीय छोरा अशोकको पेट दुख्ने समस्या र छोरी अमृताको ढाड दुख्ने समस्याको उपचार गरी काठमाण्डुबाट घर फर्किँदै थिए ।
त्यसैगरी, बेपताको अवस्था पत्ता लगाउन परिवारले सरकारसँग आग्रह गरेका छन् । अविरल वर्षाका कारण नारायणगढ– मुग्लिङ सडकको सिमलतालमा शुक्रबार बिहान पहिरो जाँदा ६२ जना यात्रुसहित दुई वटा यात्रु वाहक बस त्रिशूलीमा हराइरहेका छन् ।
काठमाण्डुबाट गौर जान नारायणगढ तर्फ आउँदै गरेको बागमती प्रदेश ००१ ख २४९५ नम्बरको गणपति डिलक्स बस र वीरगञ्जबाट काठमाण्डु जाँदै गरेको बागमती प्रदेशको ०३–००६ ख १५१६ नम्बरको एन्जलस डिलर्स बस त्रिशूलीमा हराइ रहेको छ ।