रमेश कुमार यादब
सावन ०१ गते ।
नेकपा एमालेका अध्यक्ष तथा नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा गठित २२ सदस्यीय मन्त्रीमण्डलको खुसियालीमा रौतहटको चन्द्रपुरमा दीप प्रज्वलन गरिएको छ । यस कार्यक्रमको आयोजनामा प्रदेश कमिटी सदस्य एवम् रौतहट क्षेत्र नं. ४ का इन्चार्ज प्रेम शंकर यादवको विशेष सहभागिता रहेको थियो । यो अवसरमा प्रेम शंकर यादवले मन्त्रीमण्डलको गठनले देशमा स्थायित्व र विकासका नयाँ सम्भावनाहरू खोल्ने बताएका छन् ।
उनले प्रधानमन्त्री ओलीको नेतृत्वमा देशमा आर्थिक समृद्धि र विकासका कार्यहरू तीव्र गतिमा अघि बढ्ने विश्वास व्यक्त गरेका छन् । इन्चार्ज प्रेम शंकर यादवले अब देशको विकास र युवाहरू विदेश पलायन हुनबाट जोगिने आशा जागेको कुरामा जोड दिएका थिए । युवा पुस्तालाई विदेश पलायन गर्नबाट रोक्नका लागि स्वरोजगारका अवसरहरू सिर्जना गर्नुपर्नेमा पनि जोड दिएका थिए । उनले भने, “युवाहरूले अब आफ्नो भविष्य देशभित्रै खोज्न सकून्, त्यसका लागि नयाँ अवसरहरू र योजना ल्याउनुपर्छ भन्ने भनाई रहेको थियो ।
“कार्यक्रमको क्रममा उपस्थित जनसमुदायले देशको समृद्धि र विकासको लागि एकजुट भएर अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याएका छन् । दीप प्रज्वलन कार्यक्रममा स्थानीय नेताहरू, कार्यकर्ता र सर्वसाधारणको व्यापक उपस्थिति रहेको थियो । त्यस्तै, चन्द्रपुर दिप प्रज्वलन मार्फत सिमलतालमा हालै भएको घटनामा ज्यान गुमाएका परिवारलाई उचित क्षतिपूर्ति दिन यादबले सरकारसँग आग्रह गरेका थिए । यादवले भने, “सिमताल घटनाका पीडित परिवारहरूलाई न्याय र राहत दिनुपर्ने छ, जसले गर्दा उनीहरूको पीडा कम होस् भन्ने भनाई रहेको थियो ।
उनले घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न पनि जोड दिएका छन्। यस मागलाई थप प्रभावकारी बनाउनका लागि स्थानीय समुदायले एकजुट भएर आवाज उठाउने प्रतिबद्धता जनाएका छन्। स्थानीय बासिन्दाहरूले ओलीको नयाँ कार्यकालप्रति ठूलो आशा व्यक्त गरेका छन् र देशको समृद्धिको यात्रामा उनलाई सफलताको शुभकामना दिएका छन्।
कार्यक्रममा प्रदेश कमिटि सदस्य बर बहादुर गोले , खडक बम्जन , जिल्ला सचिव बाबुराम दहाल, बृन्दावन नगरपालिकाको नगर कमिटिका अध्यक्ष राकेश साह ,चन्द्रपुर नगर कमिटिका पदाअधिकारी लगायत सयकडौं मानिसहरुको सहभागिता रहेको थियो ।