वर्तमानकाल सम्वाददाता
साउन ०४ गते ।
मुस्लिम धर्मालम्बीहरुको पर्व मोहरम ताजिया (दाहा) को मेलालाई सभ्य एवं अनुशासित ढंगबाट मनाउन स्थानीय प्रशासनले आग्रह गरेपनि राजपुर नगरपालिकामा अनुशासन भंग भई तनाव उत्पन्न हुँदा प्रहरीले सामान्य बल प्रयोग गर्नु परेको छ । रौतहटको राजपुर नगरपालिका वडा नम्वर ६ कुडियामा मुस्लिम समुदायले मोहरम ताजिया (दाहा) मनाउने क्रममा लागेको मेलामा करिव ५ हजार मानिसको उपस्थित भएपछि स्थानीय प्रहरी प्रशासनले पटक पटक संयमता अपनाउन माइकिंगको साथ मुस्लिम अगुवाहरुलाई आग्रह गरेका थिए ।
ठूलो संख्यामा घरेलु हातियार (लाठी, तरवार, भाला) सहित उपस्थित भएका ति समुदायले हिन्दुहरुले छठ पुजा गर्ने घाटमा गएर दाहा को झण्डा गाड्न खोज्दा बाक्लो रुपमा उपस्थित सुरक्षाकर्मीहरुले रोक्न खोज्दा प्रहरी माथि ढुंगामुढा गरियो । प्रहरीले ढुंगा खाएर पनि झण्डा गाड्न नदिएको बताइएको छ । हिजो अबेर साँझ ७.०० बजेको समयमा ठूलो संख्यामा मुस्लिम समुदायका स्थानीयहरुले दाहा नचाउने क्रममा उच्छुङ्खल गतिविधि भई धकेला घकेली भएको हुँदा सुरक्षामा तैनाथ रहेका सुरक्षाकर्मीको टोलीले सम्झाई खोज्दा उल्टै ति समुहले सुरक्षाकर्मी माथि नै जाइलागे ।
सुरक्षाकर्मीहरु माथी नै ढुङ्गामूढा गरे पछि स्थितिलाई नियन्त्रणमा लिनको लागि नेपाल प्रहरीले टियर ग्यास र ब्ल्याँक हवाई फायर गरिएर राति ८ बजे स्थितिलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रौतहटको श्रोतबाट बुझिएको छ । अवस्थालाई मध्यनजर राख्दै नेपाली प्रहरीका एसपी दिलिप घिमिरे र सशस्त्र प्रहरीका एसपी विक्रम हुमागाई आफैले कमाण्ड सम्हालेको क्षति हुन नदिएको बताइएको छ । दुबै एसपीको सुझबुझको कारण ठूलो घटना हुनबाट जोगिएका छन् ।
मुस्लिम समुदायको ढुंगामुढाबाट पार्दर्शी ढाल फुटेर नेपाल प्रहरीको १७ र सशस्त्र प्रहरीको २ जना गरेर १९ जना सुरक्षाकर्मीहरु घाइते भए । जसमध्ये अधिकाँशको अवस्था सामान्य रहेको केही प्रहरीको आँखा तल घाउँ लागेको हुँदा आँखा अस्पतालमा उपचार गराएर राति नै फर्किसकेको जिल्ला प्रहरी कार्यालय श्रोतले जनाए ।