वर्तमानकाल सम्वाददाता
साउन ०५ गते ।
नारायणगढ–मुग्लिन सडक खण्डको सिमलतालमा असार २८ गते पहिरोमा परी त्रिशूली नदीमा दुईवटा बससँगै खसेका २४ जना यात्रुको शव भेटिएको छ । भेटिएका २४ जनाको शव मध्ये ९ जनाको सनाखत हुन सकेको छैन । ७ जना पुरुष र दुई जना महिलाको शव सनाखत गर्ने प्रयास भइरहेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले बताए । दुवै बसमा सवार ६५ यात्रुमध्ये ३ जना पौडिएर बाहिर निस्कन सफल भएका थिए भने बाँकी बेपत्ता भएका थिए ।
नदीमा डुबेका ६२ यात्रुमध्ये शुक्रबार अपराह्नसम्म २३ जनाको शव भेटिएको छ । ३९ जनाको अवस्था अझै पत्ता लाग्न सकेको छैन । घटनास्थलबाट झण्डै १०३ किलोमिटर तल गण्डक ब्यारेज वरपर अधिकांश शव भेटिएका छन् । चितवनतर्फ ५, पश्चिम नवलपरासीमा १ र बाँकी १७ वटा शव पूर्वी नवलपरासीमा भेटिए । पूर्वी नवलपरासीका प्रमुख जिल्ला अधिकारी अरुण
पोखेरेलले जिल्लाको नदी तटिय क्षेत्र र गण्डक ब्यारेजमा अधिकांश शव भेटिएको बताए । उनले धेरैजसो शव पूर्वी
नवलपरासी क्षेत्रमा भेटिएकाले खोजीलाई पनि सोही स्थानमा तिव्रता दिइएको बताए ।
नारायणी नदीका बढी भंगला र बगर पूर्वी नवलपरासी क्षेत्रमा पर्ने तथा गण्डक ब्यारेजले पानी थुनेकाले पनि शव त्यो क्षेत्रमा अड्किएको प्रजिअ पोखरेलले बताए । नेपाली सेनाका ४० जना, सशस्त्र प्रहरीका तटिय क्षेत्रका पोष्टका सबै जनशक्तिले पूर्वी नवलपरासीमा खोजी गरिरहेको पोखरेलले बताए । ‘रजहरदेखि चोरमारासम्म निकुञ्जको क्षेत्रमा चितवन राष्ट्रिय निकुञ्जसँग समन्वय गरेर हात्तीसहित खोजी गरेका छौं, होटल तथा रिसोर्टहरूलाई पनि भनेका छौं ।
नदी आसपास बसोबास भएका समुदयालाई पनि आग्रह गरेका छौं,’ उनले भने । भएका सबै स्रोतको परिचालन गरी शवको खोजी
गरिरहेको पोखरेलले बताए । प्रजिअ पोखरेलले भारतको एसएसबी र डीएमसँग पनि नदीले बगाएर लैजाने शवको बारेमा खोजी गरिदिनअनुरोध गरिएको बताए ।
गण्डक ब्यारेजभन्दा ४० किलोमिटर तल भेटिएका २ शव उनीहरूले यता पठाउन सहजीकरण गरेको प्रजिअ पोखरेलले बताए । उनले शव भेटिएपछि मुचुल्का गरेर सिधैं भरतपुर पठाउने र त्यहीँबाट सनाखत गर्ने गरिएको बताए । घटनास्थल र त्यसभन्दा तल बसको खोजी ८ दिनदेखि निरन्तर गरे पनि अहिलेसम्म दुवै बस भेटिएका छैनन् ।