वर्तमानकाल सम्वाददाता
साउन ११ गते ।
सर्लाहीमा साउन ७ गते सोमबार पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या भयो । आफ्नै सहयोगीबाट रायको हत्या भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । गत जेठ ३२ मा बाराको कलैयास्थित रामराजा बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहाको हत्या भयो । गोली प्रहार गरी उनको हत्या भएको थियो । मृत्युकालीन घोषणामा कुशवाहले आफूमाथि पूर्वसैनिक जवान सुरेन्द्र कुशवाहले गोली हानेको बताएका थिए ।
जेठ २९ मा पर्साको जगरनाथपुरमा झारफुकका लागि घरमा बोलाएर २ जनाको हत्या भयो । नेपाल–भारत सीमा नजिक कलैया निवासी रामएकवाल पण्डित र उनको साथी सुरेश ठाकुरको आफ्नै भतिजाबाट हत्या भयो ।मधेसमा यस्ता घटना सामान्यजस्तै हुन थालिसकेको छ ।
एक वर्षमा कति हत्याका घटना ?
पछिल्लो समय मधेस प्रदेशमा हत्याका घटना शृङ्खलाबद्ध भइरहेका छन् । व्यक्तिगत रिसिइबी तथा सामान्यखाले विवादमा हत्याका घटना हुने गरेको प्रहरी विश्लेषण छ ।मधेस प्रहरीको तथ्याङ्कमा एक वर्षमा ८ वटा जिल्लामा १२६ जनाको हत्या भएको छ । गत आर्थिक वर्ष (०८०÷०८१) प्रदेशका आठ वटै जिल्लामा गरी ७८ पुरुष र ४८ जना महिलाको हत्या भएको प्रहरीले जनाएको छ ।यो एक वर्षमा सबै भन्दा बढी धनुषामा हत्याका घटना भएका छन् ।
समीक्षा अवधिमा धनुषामा १४ जना पुरुष र ७ जना महिला गरी २१ जनाको हत्या भएको तथ्याङ्क छ ।सबैभन्दा कम महोत्तरीमा हत्याका घटना भएका छन् । प्रहरीका अनुसार यहाँ ७ जना पुरुष र २ महिलाको गरी कुल ९ जनाको हत्या भएको छ ।बढी हत्या हुने जिल्लामा दोस्रो स्थानमा सिरहा छ, जहाँ एक वर्षमा ९ पुरुष र ११ महिला गरी २० जनाको हत्या भएको छ ।
पर्सामा १७, बारामा १४, रौतहटमा १७, सर्लाहीमा ११, सप्तरीमा १६ जनाको हत्या भएको मधेस प्रहरीको तथ्याङ्क छ । ती हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले १४७ जनालाई पक्राउ गरेको प्रदेश प्रहरी प्रवक्ता सुवासचन्द्र बोहराले जनाए । उनका अनुसार पक्राउ पर्नेहरूमा १२५ जना पुरुष र २२ जना महिला छन् ।