रमेश कुमार यादब
साउन १० गते ।
गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनी प्रसाद जैसवाल र सोही पालिकाको वार्ड नं. ४ का वडाअध्यक्ष सुनिल जैसवालको सक्रियतामा गरुडा गाउँको समनपुर जाने बाटोमा गरिएको सुधारकार्यले स्थानीय बासिन्दामा खुशीको माहोल सिर्जना गरेको छ । बिगत लामो समयदेखि हिलो हुने, वर्षाको पानी जम्ने र दुर्घटना हुने यो बाटोलाई अब गिट्टी र ग्राभेल राखेर राम्रो बनाइएको छ । नगर प्रमुख कन्थमनी प्रसाद जैसवालले बताए अनुसार, यो सुधार कार्यले स्थानीय जनताको दैनिकी सहज बनाएको छ ।
खासगरी वर्षाको समयमा पानी जमेर हिलो हुने र यातायातमा अवरोध आउने समस्या अब हटेको छ । साथै, दुर्घटनाको जोखिम पनि कम भएको छ, जसले गर्दा सर्वसाधारणलाई सुरक्षित आवागमनको सुविधा प्रदान गरिएको छ । वडाअध्यक्ष सुनिल जैसवालले पनि यो परियोजनामा आफ्नो ठूलो योगदान रहेको बताए ।
उनले यस बाटोको निर्माण कार्यलाई समयमै सम्पन्न गर्न स्थानीय बासिन्दा, कर्मचारी, तथा मजदुरको सहयोगको प्रशंसा गरे । साथै, उनले भविष्यमा पनि यसै गरी अन्य विकास निर्माणका कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका थिए । यस ठाउँको कार्य धेरै दिन पहिला नै भईसकेको हुन्थ्यो तर दुई पक्षको बिवादको कारण यो सडकको अवस्था अलपत्र परेको थियो तर दुवै जनाको सहमति भए पश्चात दुबै तिर नाला सहितको बाटो बनाईएको वडाअध्यक्ष जैसवालले बताए ।
वहाँले भने सुधारिएको बाटोले कृषि उत्पादन ओसारपसार गर्न, विद्यार्थीहरूलाई विद्यालय जान, तथा अन्य दैनिक कार्यहरू सहज रूपमा सञ्चालन गर्न मद्दत पुग्ने बिश्वास लिएको छ । यस बाटोको निर्माणले स्थानीय अर्थतन्त्रमा पनि सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ । यो सुधार कार्यले गरुडा नगरपालिकाको विकासका अन्य परियोजनाहरूको लागि पनि प्रेरणा मिल्ने अपेक्षा
राखिएको छ ।
नगर प्रमुख जैसवालले भने, “हामीले गरुडा नगरपालिकालाई समृद्ध र आधुनिक बनाउने लक्ष्य लिएका छौं, र यस प्रकारका विकास निर्माणका कार्यहरूमा निरन्तरता दिनेछौं।“ स्थानीय जनताले नगर प्रमुख र वडाअध्यक्षको प्रयासलाई उच्च सम्मान गरेका छन् र भविष्यमा पनि यस्ता पहलहरू जारी राख्न आग्रह गरेका छन् ।