रमेश कुमार यादब
साउन १२, रौतहट
रौतहटको अधिकाश पालिकाहरुमा मेयर र उपमेयरलाई पाखा लगाउँदै लेखापाल र हाकिमहरुको रजगज चलिरहेको छ । रौतहटको विभिन्न पालिकाहरुमा हालसालै मेयर र उपमेयरलाई पाखा लगाउँदै लेखापाल र हाकिमको रजगज बढ्दै गएको समाचार अहिले सार्वजनिक भएको छ । स्थानीय स्रोतका अनुसार, लेखापालहरुले दादागिरी शैलीमा काम गर्दै २०÷३० प्रतिशत कमिसन लिई मात्र चेक काट्ने गरेका छन् । उपभोक्ता समितिका सदस्यहरुले यसबारेमा गम्भीर गुनासो गरेका छन् ।
उपभोक्ता समितिका एक सदस्यले नाम नबताउने शर्तमा भने, “हामीले परियोजनाको काम सम्पन्न गरेर चेक लिन जान्दा लेखापालले विभिन्न बहानामा पैसा माग्छन् । २० देखि ३० प्रतिशतसम्म कमिसन दिए मात्र चेक पास गर्छन् । यस्तो परिस्थितिमा हामीलाई परियोजनाको काम गर्न निकै कठिनाई भइरहेको छ।” यसले गर्दा उपभोक्ता समितिका मानिसहरु ठूलो समस्यामा परेका छन् र पालिकाको विकासका कामहरु अवरुद्ध भएका छन् ।
मेयर र उपमेयरहरुको भूमिकालाई सीमित गर्दै लेखापाल र हाकिमहरुले प्रशासनिक काममा आफ्नो प्रभाव जमाइरहेका छन् । स्थानीय जनप्रतिनिधिहरुले पनि यसबारेमा कुनै ठोस कदम नचालेको उपभोक्ता समितिका सदस्यहरुले आरोप लगाएका छन् । “हामीले धेरै पटक गुनासो गरिसक्यौं, तर कुनै सुनुवाई भएको छैन । मेयर र उपमेयरजस्ता निर्वाचित जनप्रतिनिधिहरुको भूमिकालाई खुम्च्याउँदै लेखापाल र हाकिमको शक्तिशाली दबदबा बढ्नुले पालिकाको शासन प्रणालीप्रति स्थानीय जनतामा विश्वासको कमी आएको छ ।
यदी यस्तै अवस्थामा काम गर्नुपर्ने हो भने हामीलाई जनताको सेवा गर्न सक्दैनौं,” अर्का एक उपभोक्ता समितिका सदस्यले भने। यस विषयमा सम्बन्धित निकायले तुरुन्त ध्यान दिई भ्रष्टाचार र दादागिरी रोक्नका लागि आवश्यक कदम चाल्नुपर्ने आवश्यकता रहेको स्थानीय बासिन्दाहरुले माग गरेका छन् । जनताको करबाट सञ्चालित पालिकामा यसरी भ्रष्टाचार र अनियमितता हुनु निन्दनीय रहेको भन्दै उनीहरुले दोषीलाई कारबाहीको दायरामा ल्याउन जोड दिएका छन् ।