रमेश कुमार यादब
साउन १२ गते ।
रौतहटमा तीन दिनदेखिको प्रचण्ड गर्मीले जनजीवन अत्यन्तै कष्टकर भएको छ । यो गर्मीले सामान्य जनजीवन मात्र होइन, ज्यालादारीमा काम गर्ने मजदुरहरूमाथि समेत गम्भीर असर पु¥याएको छ । मजदुरहरू बाहिरी काम गर्न नसक्ने अवस्थामा पुगेका छन्, जसले उनीहरूको दैनिक आम्दानीमा ठूलो असर परेको छ । अनियमित विद्युत् कटौतीको समस्या पनि यो गर्मीको प्रभावलाई झन् तीव्र बनाउँदैछ ।
नियमित रूपमा बिजुली जाने र आउनेले पंखा र एसी चलाउन असम्भव बनेको छ । त्यति मात्र नभएर बिधुतको कर्मचारीको लापारवाहिले गर्दा पंखा, एसि, बिधुतबाट चल्ने मसिन समेतमा असर पर्ने गरेको उपभोक्ताहरुले गुनासो समेत गरेका छन । यो समस्या विशेष गरी गृहिणीहरूका लागि थप चुनौतीपूर्ण बनेको छ । घरको कामकाज गर्दा अत्यधिक गर्मीको सामना गर्नुपर्दा उनीहरूमा थकान र अस्वस्थता बढेको छ ।
रौतहट जिल्लाका विभिन्न भागहरूमा पानीको अभाव पनि एक प्रमुख समस्या बनेको छ । यो गर्मीको कारण धारा तथा इनारहरूमा पानीको आपूर्ति घटेको छ, जसले गर्दा सर्वसाधारणलाई दैनिक जीवनयापनमा ठूलो कठिनाई भइरहेको छ । स्वास्थ्य सेवाहरूमा गर्मीजन्य बिरामीहरूको संख्यामा बृद्धि भएको छ । अस्पताल तथा स्वास्थ्य केन्द्रहरूमा गर्मी लाग्ने, डिहाइड्रेसन, चक्कर आउने जस्ता समस्या लिएर आउने बिरामीहरूको संख्या दिनानुदिन बढिरहेको छ ।
यो गर्मी र विद्युत् कटौतीको समस्या समाधान गर्न स्थानीय प्रशासन र सम्बद्ध निकायहरूले तत्काल कदम चाल्नुपर्ने आवश्यकता छ । विद्युत् आपूर्ति नियमित गर्न, पानीको आपूर्ति सुधार गर्न तथा अत्यधिक गर्मीबाट जोगिन सर्वसाधारणलाई आवश्यक सुझाव र सहायता प्रदान गर्न सम्बन्धित निकायहरूले पहल गर्नुपर्ने देखिन्छ । त्यति मात्र नभएर अहिले खेतमा धानको रोपाईको समय भएको हुँदा रोप लगाउने महिलाहरुलाई प्रचण्ड गर्मिको कारण अस्तब्यस्त बनिरहेको देखिएको छ ।