रमेश कुमार यादब
साउन १२, रौतहट
गरुडा नगरपालिका प्रत्येक वर्ष आयोजना हुँदै आएको मेयर कपलाई थप व्यवस्थित र व्यापक बनाउन पहल गरेको छ । नगरपालिकाको सहयोगमा आयोजना हुँदै आइरहेको मेयरकप क्रिकेट प्रतियोगितालाई थप व्यवस्थित र भव्य बनाउन गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनी प्रसाद जैसवालले सक्रियता देखाउनु भएको छ ।
गरूडा नगरपालिकालाई खेलकुद नगरी बनाउने प्रतिबद्ध रहनुभएका नगर प्रमुख जैसवालले मेयर कपलाई थप व्यवस्थित बनाउने उद्देश्यले मधेश प्रदेश सरकारका खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद जैसवालसँग उहाँकै कार्यकक्षमा भेटघाट गरी सो प्रस्ताव राख्नु भएको थियो । यस सन्दर्भमा, नगर प्रमुख जैसवालले मेयर कपलाई मधेश प्रदेश स्तरीय प्रतियोगिताको रूपमा विस्तार गर्ने प्रस्ताव राखेका थिए ।
नगर प्रमुख जैसवालको प्रस्ताव अनुसार, मेयर कपलाई अब मधेश प्रदेशका विभिन्न नगरपालिकाहरू र गाउँपालिकाहरूको सहभागितामा आयोजना गरिने छ । यसले खेलकुदको माध्यमबाट युवाहरूमा उत्साह, प्रतिस्पर्धा र सहकार्यको भावना जागृत गर्नेछ । साथै, खेलकुदको विकासमा पनि योगदान पु¥याउने छ । मन्त्री प्रमोद जैसवालले नगर प्रमुख जैसवालको यस पहल प्रति सकारात्मक प्रतिक्रिया दिएका छन् र प्रदेश सरकारको तर्फबाट आवश्यक सहयोग र समर्थन प्रदान गर्ने प्रतिवद्धता जनाएका छन् ।
उहाँले खेलकुदको महत्वलाई जोड दिँदै, यस प्रकारका प्रतियोगिताहरूले खेलाडीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उकास्न मद्दत गर्ने बताउनु भयो । नगर प्रमुख जैसवालले मेयर कपलाई अझ व्यवस्थित बनाउन खेलमैदानहरूको सुधार, खेलकुद सामग्रीहरूको व्यवस्थापन, प्रशिक्षकहरूको व्यवस्था र विभिन्न उमेर समूहका खेलाडीहरूको छनोट प्रक्रिया जस्ता कुरामा ध्यान दिनुपर्ने बताए ।
मन्त्री जैसवालले पनि यस बिषयमा आवश्यक कदम चाल्ने आश्वासन दिएका छन । यस निर्णयसँगै, गरुडा नगरपालिका र मधेश प्रदेश सरकारबीचको सहकार्यले खेलकुदको क्षेत्रमा नयाँ अध्याय सुरु गर्ने विश्वास गरिएको छ । मेयर कपलाई मधेश प्रदेश स्तरीय बनाउने प्रयासले नगरपालिकाका खेलाडीहरूलाई नयाँ अवसरहरू प्रदान गर्नेछ र मधेश प्रदेशको खेलकुद स्तरलाई उकास्नेछ ।