रौतहट,१८ साउन। पछिल्लो समय प्रहरीले लागुऔषध तथा नक्कली नोटको कारोबार नियन्त्रणमा तीब्रता देखाएपछि तस्करहरुले फरक शैली अपनाएको खुलासा भएको छ। मधेस प्रदेशमा रहेका आठ जिल्लामध्ये रौतहटबाट सबैभन्दा बढी नक्कली नोट ओसारपसारमा संलग्न व्यक्तिहरू पक्राउ परेका छन्। यसैले मधेस प्रहरीले रौतहटलाई ‘रेड’ सूचीमा राखेको छ।
मधेस प्रदेश प्रहरीले गरेको आकलन अनुसार भारतबाट नेपाली नक्कली रुपैयाँ नेपाल भित्रिन थालेको छ, जसमा रौतहटको भूमिका बढी रहेको बताइएको छ। आर्थिक वर्ष २०८०/८१ मा रौतहट जिल्लाबाट झण्डै २० लाख रुपैयाँ बराबरको नेपाली नक्कली नोट बरामद भएको प्रहरी तथ्याङ्क छ।
पछिल्लो एक वर्षमा रौतहटबाट १६ जना नक्कली नोटसहित पक्राउ परेका छन्, जुन मधेसका अन्य जिल्लाको तुलनामा बढी हो। आर्थिक वर्ष २०८०/८१ मा रौतहट प्रहरीले २० लाख १६ हजार रुपैयाँ नेपाली नक्कली नोट ओसारपसारमा संलग्न व्यक्तिहरूबाट बरामद गरेको छ।
मधेस प्रदेशमा नक्कली नोट कारोबारको ग्राफ उकालो लाग्दैछ। प्रदेशका पर्सा, बारा, रौतहट, र सर्लाही जिल्लामा नेपाली नक्कली नोट ओसारपसारको गतिविधि बढेको देखिएको छ।
प्रहरीका अनुसार रौतहटपछि बाराबाट १३ लाख ८९ हजार ५ सय रुपैयाँ बराबर नेपाली नक्कली नोट बरामद भएको छ। पर्साबाट १ लाख ६४ हजार र सर्लाहीबाट १६ हजार ८२० रुपैयाँ नेपाली नक्कली नोट बरामद भएको छ। गत वर्ष प्रदेशभरबाट नक्कली नेपाली नोटसहित एक महिलासहित ३८ जना पक्राउ परेका छन्, जसमध्ये १६ जना रौतहटबाट पक्राउ परेका हुन्।
मधेस प्रहरी प्रवक्ता सुवासचन्द्र बोहराले खुला सीमाका कारण नक्कली नोटको ओसारपसार बढेको र यसको नियन्त्रणका लागि विशेष टोली परिचालन गरिएको बताए। उनले नक्कली नोट नियन्त्रणका लागि छुट्टै रणनीति बनाएर काम भइरहेको जानकारी दिएका छन्।