युवालाई विदेश पलायन हुन नदिन योजना र रोजगारीको अवसर सिर्जना गर्नुपर्नेमा दाङका एक वडाध्यक्ष आफै नै विदेश पलायन भएका छन् ।
दाङको राप्ती गाउँपालिका–८ का अध्यक्ष चन्द्रबहादुर गुरूङ वडा सदस्यलाई कार्यवाहकको जिम्मेवारी दिएर विदेश उडेका हुन् ।
गत २०७९ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट वडा अध्यक्षमा गुरुङ निर्वाचित भएका थिए। निर्वाचन र त्यसपछि घर खर्च चलाउन लागेको ऋण तिर्नको लागि उनी वैदेशिक रोजगारीमा गएको जनाइएको छ।
उनी वडा अध्यक्षमा निर्वाचित हुनु अघिसम्म सोही वडा कार्यालयमा कार्यालय सहयोगी थिए ।
गत मंगलबार उनले वडासचिव असलेख कुमार चौधरीलाई कार्यवाहक जिम्मेवारी सुम्पिएकोबारे चिठी तयार पार्न लगाए । तर उनले आफू कहाँ जान लागेको भन्नेबारे पत्रमा खुलाएनन् ।
वैदेशिक भ्रमणमा जाँदैछु भन्ने व्यहोराको चिठी लेख्न लगाएको सचिव चौधरीले जानकारी दिए । ‘वडाध्यक्षज्यूले म वैदेशिक भ्रमणमा जाँदैछु, कावा चिठी बनाइदिनुस भन्नुभएको थियो’, सचिव चौधरीले भने, ‘तर अहिले उहाँ रोजगारकै लागि बेलायत पुग्नुभएको परिवारबाट थाहा पाइयो ।’
वडाध्यक्ष गुरुङले चिठी बनाएको भोलिपल्ट वडा सदस्य चम्पा पुनलाई कार्यवाहक जिम्मेवारी दिइएको थियो । आफू वैदेशिक भ्रमणमा जान लागेको र नफर्कुञ्जेल वडाको कामकाज सम्हाल्न भनेको वडासदस्य पुनले बताइन् । भनिन्, ‘कहाँ जान लाग्नुभएको हो, कहिले जानुहुने हो मलाई केही भन्नु भएन, म नफर्किञ्जेल तपाईंले नै सम्हाल्नुहोला भनेर जानुभको छ ।’
वडाध्यक्ष गुरूङका घरमा पत्नी संगीता र दुई छोरा छन् । उनीहरू विद्यालय तहमै पढ्छन् । वडाध्यक्ष गुरूङका बुबा निमबहादुर बेलायतका निवृत्त सेना थिए। उनको १७ वर्षअघि नै प्यूठानमा मृत्यु भइसकेको छ । निमबहादुरको मृत्युपछि उनकी श्रीमती बालिकादेवीका नाममा पेन्सन पनि आउने गर्थ्यो । तर उनको पनि गत वर्ष निधन भइसकेको छ ।