धरान,२६ साउन। धरानमा एक ग्राहकको घरमा भने खाने पानीको बिल नै एक महिनाको ४९ लाख ९९ हजार २ सय रुपैयाँ आएको छ । धरान–१५ का उपभोक्ता सितादेवी डाँगीको निजी धाराको बिल झन्डै ५० लाख आएको हो । खानेपानी बोर्डले गत साउन १२ गते डाँगीको घरमा बिल पठाएको थियो । उक्त बिलमा खानेपानीको खपत युनिट ९९ हजार ९ सय ९९ सय रहेको छ । यस्तो हुनुमा मिटर उल्टो घुमेको खानेपानी बोर्डका प्रमुख राजु पोखरेलले बताए ।
‘यो केही होइन मिटर उल्टो घुमेको हो । हामीले यो समस्या सर्ट आउट गरिसकेका छौँ,’ पोखरेलले भने । यता, उक्त बिल भने सामाजिक सञ्जाल फेसबुकमा भाइरल बनेको छ । सामाजिक सञ्जालमा एउटै बिलबाट एडिबीको ऋण तिर्ने गरी खानेपानी बोर्डले बिल काटेको हुनसक्ने भन्दै विरोध गरिएको छ ।
उता खानेपानी महसुल वृद्धिको विरोधमा जनप्रतिनिधि, राजनीतिक दल र स्थानीयवासीले बिहीबार धरान उपमहानगरपालिका घेराउ गरेका छन् । सो क्रममा प्रहरीसँग झडप हुँदा केही विद्यार्थी घाइते भएको बताइएको छ ।
खानेपानीको महसुल ९ हजार ९ सय प्रतिशतसम्मले बढाएको आन्दोलनरत पक्षको दाबी छ । खानेपानी बोर्डका अध्यक्ष उपमहानगर प्रमुख हर्कराज राईको विरोधमा प्रदर्शनकारीले नाराबाजी समेत गरेका छन् । उनीहरुले महसुल वृद्धिको निर्णय खारेज गर्दै पुरानै दर कायम गर्न माग गरेका छन् ।
नगर प्रमुख राईले भने आन्दोलनकारीलाई सम्बोधन गर्दै असार २७ गते बिहान ११ बजे बैठक बोलाएका छन् । आन्दोलनकारीले भने मौखिक रूपमा नभएर लिखित रूपमा पत्र पठाए मात्रै वार्तामा बस्ने अडान राखेका छन् ।