रौतहट,२७ साउन। रौतहटको चन्द्रनिगाहपुरमा शनिबार एक विशेष कार्यक्रमको आयोजना गरि इलाका प्रहरी कार्यालयका प्रहरी कर्मचारीलाई चेनस मेसिन चलाउने तालिम प्रदान गरिएको छ ।
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुखको उपस्थितिमा १५ जना प्रहरी कर्मचारीलाई सो तालिम प्रदान गरिएको हो। तालिमको उद्देश्य अप्ठ्यारा स्थानहरूमा उद्धार कार्यका लागि आवश्यक पर्ने चेनस मेसिनको सिप र दक्षता विकास गर्नु हो । प्रहरीको उद्धार क्षमतामा वृद्धि गर्न र आपत्कालीन अवस्थामा सुरक्षित र प्रभावकारी ढंगले कार्य सम्पादन गर्न सक्षम बनाउनका लागि यो तालिम आयोजना गरिएको थियो ।
तालिमका क्रममा प्रहरीहरूलाई चेनस मेसिनको सुरक्षित प्रयोग, आवश्यक सुरक्षा उपायहरू, र यन्त्रको मर्मतसम्भार सम्बन्धी विस्तृत जानकारी दिईएको थियो । तालिम पश्चात्, सहभागी प्रहरीहरूले आपत्कालीन उद्धार कार्यमा आफ्नो क्षमतामा सुधार भएको महसुस गरेका छन् । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुखले पनि यस्ता तालिमले प्रहरीको दक्षता र सेवा प्रवाहमा सुधार ल्याउने विश्वास व्यक्त गरेका थिए ।
उक्त कार्यक्रम अनुसार चन्द्रनिगाहपुर क्षेत्रमा हावाहुरी लगायत विपदजन्य समयमा रुख ढली बाटो अबरोध भई सवारी आगमन बन्द हुने गरेकाले सो अबरोध हटाउनको लागि चन्द्रपुर नगर पालिकाले प्रहरीलाई प्रदान गरेको चेनस मेशिन चलाउने सम्बन्धमा तालिम शनिबार सञ्चालन गरेको प्रहरीले जनाएको हो ।
रौतहट चन्द्रपुर नगर पालिकाकमे वडा नं ४ स्थित हातेमालो सामुदायिक बनमा सोही बनका प्रशिक्षक सिताराम मुसरद्वारा शनिबार ईलाका प्रहरी कार्यालयमा कार्यरत रहेका १५ जना प्रहरी कर्मचारीहरुलाई उक्त मेशिन चलाउने सम्बन्धी सैद्धान्तिक तथा व्यवहारीक ज्ञानको प्रशिक्षण दिईएको बताइएको छ ।
स्थानिय समुदायले प्रहरीको यस कदमको स्वागत गरेको छ र भविष्यमा यस्ता तालिमले स्थानीय बासिन्दाहरूलाई पनि फाइदा पुर्याउने अपेक्षा गरिएको छ।यो तालिम स्थानीयस्तरमा उद्धारकार्यलाई थप प्रभावकारी बनाउने प्रयासको रूपमा लिइएको छ।