रमेश कुमार यादब
साउन २८, रौतहट
सावनको अन्तिम सोमबार, रौतहटको प्रसिद्ध नगरी शिवनगरधाममा र बृन्दावन नगरपालिका स्थित बाबा बिश्वम्भरनाथ मन्दिरमा साउने सोमबारी पर्वको अवसरमा भक्तजनहरूको उल्लेखनीय भिड देखिएको थियो । यस पर्वमा भगवान शिवको विशेष पूजा आराधना गरिन्छ र भक्तजनहरू बिहानैदेखि मन्दिरमा लाइन लागेर पूजा गर्न उपस्थित हुन्छन् । यस वर्ष पनि हजारौं भक्तजनहरूले बिहानदेखि नै पूजा गर्नका लागि मन्दिरहरूमा भीडभाड गरेका थिए ।
शिवनगरधाम र बाबा बिश्वम्भरनाथ मन्दिरमा पूजा गर्न आएका भक्तजनहरूको संख्यामा उल्लेखनीय वृद्धि भएको थियो । साउन महिनामा भगवान शिवशंकरको पुजा अर्चना एवं जलाभिषेक गर्नका लागि उत्तम महिना मानिएको छ, सोही मान्यता अनुसार हिन्दुधर्मावलम्बिहरु साउन महिनाको चौथो एवं अन्तिम सोमवारको दिन विहानै देखि रौतहटको प्रसिद्ध शिवालयहरुमा हजारौं श्रद्धालु भक्तजनहरुको घुइँचो लागेका थिए ।
रौतहट जिल्लाका प्रसिद्ध देवालयहरु शिवनगर, पतौरा महादेव स्थान, बानेश्वर महादेव स्थान, नुनथर सहित जिल्लाभरीमा दर्जनौं स्थानमा सोमबार विहानै देखि मन्दीरमा पुजा गर्नेहरुको भिडभाड लागेको थियो । भक्तजनहरूलाई पूजा गर्न सहज बनाउने उद्देश्यले स्थानीय प्रशासनले विशेष सुरक्षा र व्यवस्थापन योजना लागू गरेको थियो । भीडलाई नियन्त्रणमा राख्न नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, र टूाफिक प्रहरी परिचालन गरिएको थियो ।
भक्तजनहरूको सुरक्षाका लागि मन्दिर परिसर र वरपरका क्षेत्रमा व्यापक सुरक्षा व्यवस्था मिलाइएको थियो ।भक्तजनहरूलाई लाइनमा व्यवस्थित राख्न र आवागमनलाई सहज बनाउन टूाफिक प्रहरी पनि सक्रिय रहेको थियो । मन्दिर क्षेत्रको सुरक्षा र व्यवस्थापनका लागि स्वयम्सेवकहरू पनि खटाइएको थियो । भक्तजनहरूको सुविधाका लागि पानी, औषधि र प्राथमिक उपचारका सामग्रीहरू पनि व्यवस्थापन गरिएको थियो । स्थानीय प्रशासनले सुरक्षा र व्यवस्थापनलाई ध्यानमा राख्दै भक्तजनहरूलाई पूजा गर्न सहज वातावरण प्रदान गरेको थियो ।