वर्तमानकाल सम्वाददाता
साउन २९, रौतहट
नक्कली नेपाली नोटको कारोवारमा रौतहट पहिलो स्थानमा परेका छन भने बारा जिल्ला दोस्रो स्थानमा रहेका छन । नक्कली नोटको कारोबारी मधेश प्रदेशका जिल्लाहरुमा उल्लेख संख्यामा वृद्धि भएका छन् । अबैध रुपमा नक्कली नेपाली नोटको छपाई एवं कारोवार गर्नमा सर्लाही, वारा र रौतहट अब्बल स्थानमा रहेका हुन् ।हुनतः पर्सा, महोत्तरी, धनुषा, सिरहा, सप्तरीमा नक्कली नोटको कारोबार भईरहेपनि रौतहट, बारा र सर्लाहीमा अत्याधिक संख्यामा कारोवार भईरहेको प्रहरीद्धारा पक्राउ परेको तथ्याँकबाट पुष्टि भएका छन् ।
मधेस प्रदेशका आठ जिल्ला मध्ये बारा नक्कली नोटको कारोबार हुने जिल्लाहरूमा दोस्रो स्थानमा परेको छ भने पहिलो स्थानमा रौतहट जिल्ला रहेको प्रहरी तथ्याँकबाट बुझिएको छ । प्रहरीको तथ्याँक अनुसार, आर्थिक वर्ष ०८०÷०८१ मा बाराबाट १३ लाख ८९ हजार ५ सय रुपैयाँ बराबरका नक्कली नोट बरामद गरिएका थिए । यस अवधिमा बारा जिल्लाबाट १२ जना व्यक्ति नक्कली नोटको कारोबारमा संलग्न रहेको आरोपमा पक्राउ परेको थियो ।
मधेस प्रदेशमा रौतहट जिल्ला सबैभन्दा बढी नक्कली नेपाली नोटको कारोबार हुने जिल्लाको सूचीमा रहेको छ । आर्थिक वर्ष ०८०÷०८१ मा रौतहटबाट झन्डै २० लाख रुपैयाँ बराबरका नक्कली नेपाली नोट बरामद भए । प्रहरीको अभिलेख अनुसार, पर्सा र सर्लाही जिल्लाहरू पनि नक्कली नोटको कारोबारमा उर्वर स्थलको रुपमा देखिएका छन् । अघिल्लो आर्थिक वर्ष पर्साबाट १ लाख ६४ हजार र सर्लाहीबाट १६ हजार ८२० रुपैयाँ बराबरका नक्कली नोट बरामद भएको थियो ।
मधेस प्रदेशका रौतहट, बारा, पर्सा, र सर्लाही जिल्लाहरूबाट आर्थिक बर्षभरिमा करिब ३५ लाख ८६ हजार रुपैयाँ बराबरका नक्कली नेपाली नोट बरामद गरिएको प्रहरी तथ्याँकबाट बुझिएको छ । यस अवधिमा ३८ जना व्यक्तिहरू नक्कली नोटसहित पक्राउ परेका थिए । ३८ जान मध्ये रौतहटबाट मात्रै १६ जना पक्राउ परेको छ ।
रौतहटमा नेपाली नक्कली नोटको कारोबार बढ्दै गएपछि मधेस प्रहरीले यस जिल्लालाई ‘रेड’ सूचीमा राखेको छ । प्रहरीको अनुसार, खुला सिमानाका कारणले मधेसमा नक्कली नोटहरू भारतबाट भित्रिरहेको आशंका गरिएको छ । रौतहटमा यसको सञ्जाल बढी देखिएको छ, जसले प्रदेश प्रहरीलाई सतर्क बनाएको छ ।
प्रदेश प्रहरी प्रवक्ता सुवासचन्द्र बोहराले मधेसमा पछिल्लो समय नक्कली नोटहरूको बरामदगी बढेको बताएका छन् । प्रदेशभरी नै नक्कली नोट सहित विभिन्न अवाञ्छित कार्यहरुलाई निष्तेज पार्न प्रहरीलाई परिचालन गराएर निगरानी राखिएको उनले भने ।