रमेश कुमार यादब
साउन २९, रौतहट
रौतहट जिल्लाको गौर नगरपालिका(५ स्थित कर्मचारी मिलन केन्द्र र रामजानकी मन्दिरको बीचमा रहेको एक बिजुलीको खम्बामा भएको आगलागीका कारण डिजिटल सेवा अवरुद्ध भएको छ । सो घटनामा विभिन्न सेवा प्रदायकका इन्टरनेट तारहरू जलेर पूर्ण रूपमा नष्ट भएका छन्, जसले गर्दा स्थानीय क्षेत्रमा इन्टरनेट सेवा ठप्प भएको छ । आगलागीको कारण सहरको दैनिक जीवनमा ठुलो प्रभाव परेको छ। स्थानीय व्यवसाय, बैंकिङ सेवा, र अन्य डिजिटल सेवाहरू प्रभावित भएका छन्।
विद्यार्थीहरू अनलाइन कक्षामा सामेल हुन नसकेका छन् भने कामकाजी व्यक्तिहरूले घरबाटै काम गर्न समस्या भोगिरहेका छन्। आगलागीको वास्तविक कारण के हो भन्नेबारे अनुसन्धान भइरहेको छ । प्रारम्भिक रिपोर्ट अनुसार, बिजुलीको तारमा कुनै प्रकारको सर्ट सर्किट हुनसक्ने अनुमान गरिएको छ । आगलागीपछि स्थानिय प्रशासन र नेपाल विद्युत प्राधिकरणको टोली र गौर नगरपालिकाको बारुण यन्त्र आएर तत्कालै घटनास्थलमा पुगेर आगो नियन्त्रणमा ल्याएको थियो ।
उक्त विजुलीको खम्वा भएर गएका वल्ड लिंक, सुविसु, नेपाल टेलिकम लगायतका विभिन्न सेवा प्रदायक इन्टरनेटका सेवाहरु अवरुद्ध भएको बताइएको छ । बिजुलीको खम्बामा रहेका अन्य तारहरू पनि क्षतिग्रस्त भएका कारण विद्युत सेवा पनि केही समयका लागि अवरुद्ध भएको थियो । इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले आफ्नो सेवा पुनः सञ्चालनमा ल्याउनका लागि आवश्यक मर्मतकार्य सुरू गरिसकेका छन् ।
यद्यपि, सेवा पुनःस्थापनामा केही समय लाग्न सक्ने बताइएको छ । स्थानिय प्रशासनले पुनः यस्ता घटनाहरू नहोस् भन्नका लागि बिजुलीका तारहरूको नियमित जाँच गर्न निर्देशन दिएको छ । यस घटनाले डिजिटल सेवा र सञ्चार सुविधाको महत्त्वलाई उजागर गरेको छ।