वर्तमानकाल सम्वाददाता
साउन २९ गते ।
जसपा नेपालबाट अलग भइ नवगठित अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राईले पार्टीका इमान्दार कार्यकर्ताहरु आफूहरुका साथमा रहेको दाबी गर्दै छिट्टै देशव्यापी पार्टी बनाउने घोषणा गरेका छन् । राजविराजमा सोमबार आयोजित जसपा जिल्ला कार्य समितिको घोषणा सभामा बोल्दै अध्यक्ष राईले जसपामा जनताको आकर्षण बढ्दै गएको बताए । उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल अलग भएको नवगठित जसपाले पहिलो पटक राजविराज आएका अध्यक्ष राईले निःस्वार्थ भावनाले जनताको चाहना बमोजिम पार्टी निर्माण गरेको भन्दै पार्टीलाई थप बलियो बनाउनमा जुट्न कार्यकर्ताहरुलाई आह्वान गरे ।
पार्टीका अन्य महत्वपूर्ण नेताहरुका साथ उपस्थित भएका अध्यक्ष राईले हिमाल, पहाड, तराई सबै ठाउँमा पार्टीप्रति आकर्षण बढेको दाबीका साथ निर्धक्क भएर पार्टी निर्माण र जनताको सेवामा जुट्न कार्यकर्ताहरुलाई निर्देशन दिए । सो कार्यक्रममा जसपाका उपाध्यक्षसमेत रहेका महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री नवलकिशोर साहले अवसरवादीहरुलाई छाडेर आफूहरुले पार्टी निर्माण गरेको भन्दै संगठनमा अधिकारका लागि लडेका, दुःख पाएका, निःस्वार्थ र स्वाभिमानी साथीहरुको साथ रहेको कारण पार्टीको भविष्य उज्जवल रहेको दाबी गरे ।
मन्त्री साहले आफूहरुले पार्टी फुटाएको नभइ लोभीपापी र स्वार्थीहरुको संगत छोडेर असल पार्टी निर्माणमा जुटेको बताए । सो कार्यक्रममा खानेपानी मन्त्री प्रदीप यादवले आफूहरुले उपेन्द्र यादवलाई नेता मान्दै आए पनि उनमा बढ्दो अंहकार, सत्ता स्वार्थ र तानाशाही प्रवृतिका कारण उनको साथ छोड्नु परेको बताए । “उपेन्द्रले हालसम्म पार्टीलाई प्राइभेट लिमिटेड कम्पनीको रुपमा चलाए, उनले भने –सत्ता विना बस्नु पर्दा पानी विना माछा जस्तो छटपटी देखाए ।
” उनको अंहकारी स्वभावले गर्दा महन्थ ठाकुर, बाबुराम भट्टराई, राजेन्द्र महतो, अशोक राई, विजय गच्छदार, जयप्रकाश गुप्ता, रेणु यादवलगायतका शीर्षनेतृत्वहरुले समेत उनको अगाडि टिक्न नसकेको उदाहरण दिँदै मन्त्री यादवले त्यस्तो पार्टीमा अन्य इमान्दार कार्यकर्ताहरुको भविष्य सुनिश्चित नरहेको ठोकुवासमेत गरे ।पेन्द्र नेतृत्वको पार्टीलाई सत्ता स्वार्थीहरुको पसलको संज्ञासमेत दिए । मन्त्री यादवले अबको केही दिनमै उपेन्द्र यादवको पसल बन्द हुने दाबी गरे । जसपा नेतृत्वको ६÷६ वर्षसम्म मधेश प्रदेशमा सरकार हुँदा जनताले सरकारको अनुभुति गर्न नपाएको र योजनाहरु १० प्रतिशत लिएर खुलेआम बजारमा बिक्रि हुने
गरेको उनले बताए ।