वर्तमानकाल सम्वाददाता
रौतहट,३० साउन। रौतहटको गरुडा नगरपालिकामा पछिल्लो समय नगर प्रमुख कन्थमनि प्रसाद जैसवालको क्रियाकलापलाई लिएर गम्भीर आलोचना सुरु भएको छ ।
जैसवालले नगरपालिकामा विभिन्न विकास निर्माणका कामहरूमा सम्पूर्ण प्रक्रिया पुरा नगरी अग्रिम भुक्तानी दिएको आरोप लागेको छ । उनले अधुरो वा नगरेको कामको समेत अग्रीम भुक्तानी दिएको आरोपमा आलोचना भोग्नु परेको छ । नगरपालिकामा रहेका कयौं विकास निर्माणका कामहरुमा अनियमितता भएको रहस्य बाहिर आउन थालेको छ ।
यसका लागि प्रमुख जैसवालले कागजपत्रको अधारमा नै लाखौं रुपैयाँको भुक्तानी गरेको खुलासा भएको छ। विशेषगरी, नगर प्रमुख जैसवालले ठूला निर्माण परियोजनाहरूमा काम नै नगरेको खण्डमा लाखौं रुपैयाँ भुक्तानी गरेको विषयले जनतामा असन्तुष्टि बढाएको छ । गरुडा नगरपालिकामा धेरै योजनाहरू कागजमा मात्र सिमित रहेको र काम नगरी नै भुक्तानी गरिएको खुलासा भए पछि स्थानीयहरू आक्रोशित भएका छन् ।
नगर प्रमुख जैसवालले आफ्नो पदको दुरुपयोग गरी विभिन्न ठेकदारहरुसँगको मिलेमतो गर्दै अधुरा कामहरुको भुक्तानी दिएको आशंका छ । यस्ता आरोपहरूमा विशेष गरी नगर प्रमुख जैसवालका जेठो छोरा सैलेश जैसवालसँग पनि जोडिएका छन् । उनी नगरपालिकामा काला नाग जस्तो कुन्डली मारेर बसेको र बाउ भन्दा उनी कमिसनमा चलखेल गरेको आरोप भोग्दै आएको छ । उनी नगरपालिकाको कुन पदको कर्मचारी हो र उनले गर्नु पर्ने कार्य कुन हो भने वहाँमाथि प्रश्न समेत उठन थालेका छन ।
उपभोक्ता समितिका एक अध्यक्षका अनुसार, नगरपालिकाका लेखापाल र प्रमुख प्रशासकिय अधिकृतहरूलाई नगर प्रमुखकै निर्देशनमा मेयरको जेठो छोरा सैलेशले प्रभावमा पारेर लाखौं रुपैयाँको बहाना बनाई सताउने गरेको आरोप छ । स्रोतका अनुसार, नगर प्रमुखले विभिन्न परियोजनामा ठेकेदारहरूसँग पहिले नै कमिशनको बार्गेनिङ्ग गर्ने र त्यसपछि मात्र भुक्तानी दिने चलन छ । काम नगरी वा काम अधुरै रहँदा पनि भुक्तानी दिने प्रथा गरुडा नगरपालिकामा पछिल्लो समय व्यापक भएको छ ।
यो सम्पूर्ण घटनाले गरुडा नगरपालिकामा भ्रष्टाचारको गम्भीर समस्या रहेको स्पष्ट देखाएको छ । त्यति मात्र नभएर नगर प्रमुख जैसवालले कमिसन नपाउँदा वा उनीसँगको सम्झौतामा असहमति हुँदा, उनले आफ्नो पदको प्रयोग गरी ठेकेदार, लेखापाल, र अन्य कर्मचारीलाई अनावश्यक दबाब दिने गरेको स्थानीय तहका एक जना सदस्यहरुले बताएका छन्।
धेरैजसो उपभोक्ता समितिहरुले प्रमुख जैसवालको नेतृत्वमा भइरहेको विकास कार्यमा असन्तुष्टि व्यक्त गरेका छन् र यसलाई भ्रष्टाचारसँग जोडेर हेरिरहेका छन्। त्यस कारण यस विषयमा सम्बन्धित निकायहरूद्वारा छानबिन गरिनुपर्ने माग उठेको छ भने जनप्रतिनिधिहरूको पनि ध्यानाकर्षण भएको छ ।
जनताले नगर प्रमुखको यस प्रकारको क्रियाकलापलाई लिएर आक्रोश पोख्दै गर्दा, उनीहरूले यो मुद्दामा पारदर्शिता र इमानदारीताको आवश्यकतामा जोड दिएका छन्। यस किसिमका घटनाहरूले नगरपालिकामा सर्वसाधारणको विश्वास घटाउँदै जाने र विकासका कामहरू प्रभावित हुने जनाइएको छ।