रौतहट,३१ साउन। भारतले आफ्नो ७८औँ स्वतन्त्रता दिवसको अवसरमा नेपाललाई ६६ वटा स्कुल बस र ३५ वटा एम्बुलेन्स उपहारस्वरूप प्रदान गरेको छ। वीरगञ्जमा आयोजित विशेष कार्यक्रममा भारतीय दूतावासले स्कुल बस र एम्बुलेन्स हस्तान्तरण गरेको हो।
भारतले स्वतन्त्रता दिवसको अवसरमा प्रत्येक वर्ष नेपाललाई एम्बुलेन्स र स्कुल बस प्रदान गर्दै आएको छ। यो परम्परालाई निरन्तरता दिँदै, भारतले हालसम्म १,००९ एम्बुलेन्स र ३०० स्कुल बस नेपाललाई प्रदान गरिसकेको छ।
भारतीय दूतावासले दिएको जानकारी अनुसार, पछिल्लो एक वर्षमा भारतीय सहयोगमा नेपालमा २५ परियोजना उद्घाटन गरिएको छ भने ६ परियोजनामा हस्ताक्षर भएको र ९ वटा परियोजनाको शिलान्यास गरिएको छ।
गत पुस महिनामा नेपाल र भारतका परराष्ट्रमन्त्रीस्तरीय सहमतिपछि भारतले नेपालमा परियोजनामा सिधै २० करोड खर्च गर्न पाउने व्यवस्था गरिएको थियो। यस सहयोगले दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।
यस अवसरमा नेपाल-भारत मित्रता र सहकार्यको नयाँ अध्याय थपिएको भारतीय दूतावासले जनाएको छ।