वर्तमानकाल सम्वाददाता
साउन ३२ गते ।
सर्लाहीको हरिपुर नगरपालिका–३ फरहदवाका सुमान साह ५७ वर्षका भए । श्रीमती नइना खातुन उनीभन्दा ७ वर्ष कान्छी छिन् । तर उनहरूले दुई वर्षदेखि वृद्ध भत्ता बुझ्दै आएका थिए । ज्याला मजदुरीगरेर जीविका चलाउँदै आएका उनीहरुले शारीरिक अवस्था कमजोर भएपछि वृद्ध भत्ता खाने उद्देश्यले नै नक्कली नागरिकता बनाएको खुलेको छ ।
सुमान दम्पतीका साथै उमेर बढाएर नागरिकता किर्ते गर्न सहयोग गर्ने सर्लाहीकै चन्द्रपुर गाउँपालिका–१ किसनपुरका ५० वर्षीय बन्ती लाल महरा र हरिपुर नगरपालिका–३ कि ४० वर्षीया खोरियावाली भन्ने पानापती देवी गरी चार जनाविरुद्ध मुद्दा चलाइएको छ । मुद्दा चलाइएकामध्ये सुमान र बन्ती लाल पुर्पक्षका लागि सर्लाही कारागारमा थुनामा छन् । अरु फरार छन् । नागरिकता कीर्तेमा महत्वपूर्ण भूमिका खेलेका नासुलाई भने मुद्दा नै चलाइएको छैन ।
२५ वर्ष उमेर बढाएर नागरिकता
जिल्ला प्रशासन कार्यालय सर्लाहीको रेकर्ड अनुसार सुमान साहले २२ माघ २०६३ मा बंशजको नागरिकता लिएका थिए । जसमा उनको जन्म मिति २ साउन २०२४ उल्लेख छ । उनकी श्रीमती नइनाले १८ पुस २०६७ मा वैवाहिक अंगिकृत नागरिकता लिएकी थिइन्, जसमा जम्ममिति २ साउन २०३० छ । त्यसअनुसार दुवैको उमेर बृत्त भक्ता पाउन योग्य छैन ।
तर, दुवैले हरिपुर नगरपालिका वडा नम्बर ३ मा ७५ वर्ष पुगेको नागरिकता नै पेश गरेर वृद्धभत्ता बुझ्दै आएका थिए ।सुमानले १ साउन २०७८ देखि १ असोज २०८० सम्म १ लाख १८ हजार ८ सय र नइनाले १ साउन २०७८ देखि असार २०८० सम्म १ लाख ५ हजार ८ सय वृद्ध भत्ता समेत बुझेको खुलेको छ ।सुमानले वृद्धभत्ता लिनकै लागि आफू र श्रीमतीले नागरिकतामा कीर्ते गरेको स्वीकार गरेका छन् ।