रमेश कुमार यादब
साउन ३२, रौतहट
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक दिलिप घिमिरेको विदामा रहेको समयमा तस्करीमा संलग्न व्यक्तिहरूले अवसरको फाइदा उठाउँदै तस्करीको गतिविधि तिब्र बनाएका छन् । तस्करीको गतिविधिका केहि चर्चित तस्करहरूले परिचालन गरेका छन्, जसले लामो समयदेखि सो नाकाबाट तस्करी गर्दै आएका छन । घिमिरेको अनुपस्थितिमा रौतहटको मठिया नाकाबाट चिनी, मल, र कपडा जस्ता सामानहरू नेपाल भित्र्याउन तस्करहरूले सक्रियता बढाएका छन् ।
स्रोतका अनुसार, प्रहरी चौकी मठियाका इंचार्ज, प्रहरी सहायक निरीक्षक प्रमोद यादवको सहमति प्राप्त गरेपछि तस्करीका लागि खुला लाइन दिइएको हो। डीलपछि कार्यवाहक प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक एलिजा गिरीले तस्करहरूलाई नाकाबाट सामान भित्र्याउन अनुमति दिएको आरोप लागेको छ । विशेषगरी चर्चित तस्करहरूलाई चिनी, मल, कपडा र मोटरसाईकलका पार्टस जस्ता सामानहरूको तस्करी गरी नेपाल ल्याउन अनुमति दिइएको छ ।
प्रहरी नायब उपरीक्षक एलिजा गिरी, जो हाल कार्यवाहक प्रहरी प्रमुखको रूपमा कार्यरत छन्, उनले प्रमोद यादव मार्फत तस्करीको यो लाइन दिएको बताइएको छ । तस्करहरूले यो लाइन पाएपछि मठिया नाकाबाट मोटरसाइकलमा चिनी, मल, कपडाका गाठहरू र मोटरसाईकलका पार्टस ठूलो संख्यामा नेपाल भित्र्याइरहेका छन् । प्रहरी प्रमुख गिरीको संरक्षणमा नेपालमा अवैध रूपमा सामानहरू भित्र्याउन सजिलो भएको छ । यसले गर्दा स्थानीय बजारमा प्रतिस्पर्धामा समस्या उत्पन्न हुने र सरकारले पाउनुपर्ने राजस्वमा पनि घाटा हुने अवस्था आएको छ ।
अहिले प्रहरी सहायक निरिक्षक यादवले जयनगर, बंकुल, मठिया, मोतीपुर लगायतका नाकाबाट भंसार राजस्व छली गरि तस्करी लाइन चलाउन तस्करहरूसँग समन्वय गरिदिएपछि तस्करहरूले उत्साहका साथ तस्करी गर्न थालेको बताईएका छन । त्यस्तै बेलबिछवा, महादेवपट्टी, ब्राह्मपुरी लगायतको नाका पनि यतिखेर तस्करका लागि खुल्ला गरिएको स्थानीयहरूले बताएका छन् । यस घटनाले प्रहरी प्रशासनमा रहेको कमजोरी र भ्रष्टाचारको संकेत पनि गरेको छ ।
जसले गर्दा स्थानिय तहमा सुरक्षाको सवालमा गम्भीर प्रश्नहरू उठेका छन् । स्थानीय समुदाय र केही प्रहरी स्रोतहरूले तस्करीको यो नयाँ गतिविधिमा संलग्न प्रहरी अधिकारीहरूको भूमिकालाई लिएर असन्तुष्टि जनाएका छन् । यस घटनाले रौतहट जिल्लामा प्रहरी प्रशासनको विश्वासनीयतामा गम्भीर असर पर्न सक्ने सम्भावना देखिएको छ ।
प्रहरी उपरीक्षक दिलिप घिमिरेको विदा सकिएपछि यस विषयमा थप अनुसन्धान र कारबाही हुने अपेक्षा गरिएको छ, तर हालसम्म यस सम्बन्धमा कुनै औपचारिक प्रतिक्रिया प्राप्त भएको छैन । यस घटनाले सीमावर्ती क्षेत्रहरूको सुरक्षा व्यवस्थामा सुधारको खाँचो रहेको स्पष्ट पारेको छ ।
साथै तस्करीमा संलग्न प्रहरी अधिकारीहरूमाथि कडा कारवाहीको माग स्थानीयहरूले उठाएका छन्। साथै, जिल्लामा विद्यमान तस्करी नियन्त्रणको प्रयासलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता पनि प्रस्ट देखिएको छ ।