रौतहट,०२ भदौ। रौतहट जिल्लाको बृन्दावन नगरपालिकाको वार्ड नं. १ को वार्ड कार्यालयमा १८ दिनदेखि लागेको ताला हालै खोलिएको छ । बृन्दावन नगरपालिकाको नगर प्रमुख बिनोद प्रसाद कुर्मीको विशेष पहलमा १८ दिनदेखि लागेको ताला शनिबार खोलिएको छ । वार्ड नं. १ का स्थानीय बासिन्दाहरूले विभिन्न माग राख्दै वार्ड कार्यालयमा ताला लगाएका थिए ।
लामो समयसम्म कार्यालयमा ताला लागेका कारण स्थानीयहरू विभिन्न प्रशासनिक सेवा तथा सुविधा प्राप्त गर्नबाट वञ्चित भएका थिए । नगर प्रमुख कुर्मिले ताला खोल्नका लागि स्थानीय बासिन्दाहरूका समस्याहरू सुनेर वार्ता प्रक्रिया अघि बढाएका थिए । अन्ततः सहमति भएपछि वार्ड कार्यालयको ताला खोलिएको छ ।
शनिबार ताला खुल्नुको अर्थ अब नगरपालिकाको सबै सेवा पुनः सञ्चालनमा आउनु हो । नगर प्रमुख कुर्मिले भने ताला खुल्ने बित्तिकै वार्डबाट प्राप्त हुने जन्मदर्ता, मृत्यु दर्ता, सिफारिस, वृद्धभत्ता कार्ड नवीकरण, अपाङ्ग भत्ता कार्ड नवीकरण, र एकल महिला भत्ता कार्ड नवीकरण जस्ता सेवाहरू आइतबारदेखि सहज रूपमा सञ्चालनमा आउने बताएका छन् । नगर प्रमुख कुर्मिले नगरपालिकाका कर्मचारीहरूलाई हाल भइरहेको वृद्धवृद्धाको नवीकरण कार्यलाई छिटो र छरितो निरन्तरता दिन निर्देशन समेत दिएका छन् ।
उनले नगरपालिकाका सेवाहरूलाई प्रभावकारी र सुचारु बनाउन र नागरिकहरूलाई सहज रूपमा सेवा दिन विशेष ध्यान दिनुपर्ने आवश्यकता औंल्याएका छन् । यसका साथै, उनले नगरपालिकाका अन्य विकास परियोजनाहरूलाई पनि निरन्तरता दिने र नागरिकका समस्याहरूको समाधान गर्न नगरपालिकाले सक्रियताका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
बृन्दावन नगरपालिकाका सेवाग्राहीहरूले अब पुनः सहज रूपमा सेवा प्राप्त गर्न पाउने हुँदा खुसि भएका छन् भने नगर प्रमुख कुर्मिलाई धन्यबाद दिएका छन ।