// वर्तमानकाल सम्वाददाता //
रौतहट,०३ भदौ। रौतहट जिल्लाको गरुडा नगर पालिकाका नगर प्रमुख कन्थमिन प्रसाद जैसवालमाथि पुनः भ्रष्टाचार र अनियमितताको गम्भीर आरोप लागेको छ । नगर प्रमुख जैसवालले नगरपालिकाका विभिन्न योजनामा अनियमितता गर्दै आएको भन्दै स्थानिय समाजिक अभियन्ताहरूले विरोध जनाएका छन् । हालै मात्र, गरुडा नगरपालिकाबाट वितरण गरिएको स्प्रे ट्याङ्कीहरूमा समेत अनियमितता भएको आरोप गरुडा एक जना चर्चित समाजिक अभियन्ता सैलेन्द्र प्रसाद यादवले लगाएका छन् ।
यादवका अनुसार, नगर प्रमुख जैसवालले स्प्रे ट्याङ्कीहरू वास्तविक किसानहरूलाई वितरण गर्नुपर्नेमा आफ्नो आसेपासे, चापलुसी गर्ने, र नातागोतालाई वितरण गरेको गम्भीर आरोप लगाएका छन् । यादवले भने, “स्प्रे ट्याङ्कीहरू वितरणको लागि बनाइएको सूचीमा
अधिकांश किसानहरू झोले किसान रहेको र वास्तविक किसानहरूलाई बेवास्ता गरिएको छ । “ यादवले भने, “नगर प्रमुखले
गरिब किसानहरूको हकमा खेलवाड गरेका छन् । जुन सम्पूर्ण रुपमा गलत छ ।
” त्यति मात्र कहाँ हो नगर प्रमुख जैसवाल नैतिकहिन कार्यमा लागेका छन र बजेट पचाउन कार्यक्रम तिर लागेका गम्भिर आरोप समेत लगाएका छन । नगर प्रमुख जैसवाल यो स्प्रे टंकी २ हजार ८ सयमा ल्याई नगरबासिलाई ४ हजार ८ सयमा भर पाई गराई दिनदहाडैं भ्रष्टाचार गरिरहेका प्रष्ट देख्न सकिन्छ । त्यसैले यस्ता भ्रष्टाचार नगर प्रमुखलाई चाडै भन्दा चाडैं कार्यावाहि
गरि हथकडि लगाउन अख्तियार दुरुपयोग आयोग समक्ष ध्यानआकर्षण गराएका छन । यो पहिलो पटक होइन कि नगर प्रमुख जैसवाल अनियमितताको आरोपमा मुछिएका हुन् । यसअघि पनि नगर प्रमुख जैसवालको नाम विभिन्न विवादमा पर्दै आईरहेका छन ।
गरुडा नगरपालिकामा विकासयोजनामा व्यापक अनियमितता र भ्रष्टाचारका घटनाहरूले स्थानिय जनता निराश छन् । केही समयअघि, नगरपालिकाको बजेटको सही सदुपयोग नभएको र ठेकेदारसँग मिलेमतो गरेर योजना पारदर्शी नबनाइएको आरोप पनि लागेका थिए । स्थानीयले नगरपालिकाको काम कारबाहीमा पारदर्शिता नहुनु, सार्वजनिक स्रोत साधनको दुरुपयोग हुनु, र पहुँचवाला व्यक्तिहरुलाई मात्रै लाभ पु¥याउने कार्यहरू भएको आरोप लगाउँदै आएका छन् । नगरका जनताले नगर प्रमुखको यस्तो क्रियाकलापको विरुद्धमा आवाज उठाउँदै आएका छन् भने विभिन्न स्थानीय संघसंस्थाहरूले पनि नगर पालिकामा भइरहेको अनियमितताबारे छानबिनको माग गरेका छन् ।
सामाजिक अभियन्ताहरूले जैसवालको कार्यशैलीको कडा आलोचना गर्दै तत्काल कारवाही गर्न सम्बन्धित निकायलाई अनुरोध गरेका छन् । नगर प्रमुख जैसवालले भने अभियन्ता यादवले लगाएका आरोपहरूलाई अस्वीकार गर्दै आएका छन्। उनले भनेका छन्, “स्प्रे टंकी वितरणमा कुनै पनि अनियमितता भएको छैन। अभियन्ता यादवले नगर प्रमुखको यो स्पष्टीकरणलाई अस्वीकार
गर्दै यस विषयमा निष्पक्ष छानबिन गर्न माग गरेका छन्। उनले भनेका छन्, “यो सामान्य आरोप होइन।
यसमा गम्भीर छानबिन हुनु आवश्यक छ, ताकि दोषीलाई कानुनी कारबाही होस्।” गरुडा नगरपालिकामा यो विषयले ठुलो चर्चा पाएको छ र स्थानीय जनताले
नगर प्रमुखको कामप्रति असन्तुष्टि जनाउँदै निष्पक्ष छानबिनको माग गरेका छन्। अब यो विवाद कहाँसम्म पुग्ने हो, त्यो भने भविष्यले नै बताउनेछ।