वर्तमानकाल सम्वाददाता
भदौ २, रौतहट
रौतहटको कटहरिया स्थित तलब भत्ताको माग गर्दै शिक्षिका तथा विद्यालय कर्मचारी धर्नामा बसेका छन् । आगामी ४ गते मंगलबार सम्म तलब भत्ता नपाएमा ५ गते बुधबारदेखि नगरको सम्पूर्ण सामुदायिक विद्यालय बन्द गर्ने घोषणा गरेका छन । नेपाल विद्यालय कर्मचारी तथा बाल विकास शिक्षक युनियन नगर कार्यसमितिको आयोजनामा शिक्षिका तथा विद्यालय कर्मचारी नगरपालिका प्राङ्गण भित्र आइतबार धर्नामा बसेका हुन् ।
नगरभित्रका सामुदायिक विद्यालयहरुमा कार्यरत सम्पूर्ण विद्यालय कर्मचारीहरू,बाल विकास सहयोगी कार्यकर्ताले तलव र भत्ताको माग गर्दै आन्दोलनको कार्यक्रम घोषणा गरेका हुन् । सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारी र बाल विकास सहयोगी कार्यकर्ताले आर्थिक बर्ष २०७९!०८० को वैशाखदेखि अषाढ मसान्त सम्मको न्यूनतम थप तलव, यस आर्थिक वर्षको वैशाखदेखि हालसम्मको तलब र प्रतिमहिना दुईहजारको दरले प्रोत्साहन भत्ता समेतको रकम निकासा नभएर कसैले पनि न पाएर कठिनाइ भएको छ ।
सम्पूर्ण विद्यालय कर्मचारी र सहयोगी कार्यकर्ताले आगामी ५ गते मंगलबार सम्म तलब भत्ता निकासा नभएमा निम्न अनुसारको आन्दोलन गर्न बाध्य हुने बताएका छन् । आज देखि सुरु भएको धर्नालाई भोलि ३ गतेसम्म निरन्तरता दिने , भदौ ४ गते हात्तमा कालो पट्टी बाँधेर आ–आफ्नो विद्यालयमा काम काज गर्ने र भदौ ५ गतेदेखि कटहरिया नगर क्षेत्रका सम्पूर्ण सामुदायिक विद्यालयहरू अनिश्चितकालका लागि बन्द गरिने धर्नामा सहभागी एकजना शिक्षक देवीलाल कुशवाहाले बताएका छन ।
कटहरिया स्थित सम्पूर्ण सामुदायिक बिद्यालयहरुमा बिद्यालय कर्मचारी र बाल शिक्षा सहयोगी कार्यकर्ता गरी ६४ जना कार्यरत रहेका छन । कटहरिया नगरपालिकाका मेयर अजय प्रकाश जैसवाल उपमेयर रिता देवी यादव सहित जनप्रतिनिधि कर्मचारी गरी ११ जना भ्रष्टाचार मुद्दामा अख्तियारद्वारा दोषी ठहर भएर झण्डै १ महिना अघि निलम्बित भएपछि बाल विकास शिक्षिका तथा विद्यालय कर्मचारी तलब सुबिधा पाउन बाट बञ्चित भएका छन् ।
गत आर्थिक बर्षको अन्तिम महिना असारमा प्रमुख प्रशासकिय अधिकृत सुरेन्द्र प्रधानले चासो न लिएको कारण तलब सुबिधा पाउन नसकेको उनीहरूको आरोप रहेको छ ।