वर्तमानकाल सम्वाददाता
भदौं ०३ गते ।
६ दिनअघि विषाक्त खानाले सिम्रौनगढ नगरपालिका–७ झवानी गाउँका एकै परिवारका तीन बालबालिकाको मृत्यु भएपछि खानामा कसरी विष मिसिन पुग्यो भन्ने अझै खुलेको छैन। अति विपन्न दलित परिवारका नरेश राम चमारका नाबालिक २ छोरी र १ छोराको सोमवार मृत्यु भएको थियो ।
प्रहरीले अनुसन्धान भइरहेको दाबी गरेपनि खाना विषाक्त कसरी हुन पुग्यो भन्ने पत्ता लगाउन सकेको छैन । खाना खाएर बिरामी परेपछि उपचारमा संलग्न चिकित्सकहरले विषाक्त खानाले मृत्यु भएको मृतक परिवारलाई बताएको थियो । गाउँकै पोखरीबाट मारिएको सानो पोठे माछा किनेर बालबालिकाकी आमाले शनिवार राति पकाएकी थिइन् ।
भात र माछा खाएपछि उनीहरूलाई पेट दुख्ने, आँखा नदेख्ने समस्या भएको थियो । मृतक बालबालिकाको भिसेरा जाँचका लागि विधि विज्ञान प्रयोगशाला पुगिसकेको छैन । ९ वर्षीया छोरी लालिमा, ७ वर्षीया पुष्पा र ५ वर्षीय छोरा कृष्णनन्दनको उपचारको क्रममा वीरगन्ज नेशनल मेडिकल अस्पतालमा मृत्यु भएको थियो । पोस्टमार्टम भने वीरगन्ज नारायणी अस्पतालमा भएको थियो ।
‘माछा मारिएको पोखरी धनी, माछा मारेर बिक्री गर्ने व्यक्ति, मृतकको आमा, हजरबुवा र हजुरआमासहित छरछिमेकबाट सोधपुछ गरिएको छ,’ सिम्रौनगढ इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक नवीन राईले भने, ‘मृत्यु भएका तिनै बालबालिका एउटै थालमा सँगै आना आएका थिए ।’
राम परिवारको घरमा खानतलासी गर्दा कुनै प्ररकारको विषादी फेला नपरेको उनले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको उनको भनाइ छ । सोही माछा भात बालबालिकाको परिवार र छिमेकीले खाँदा कोही विरामी परेनन् । दलित परिवारका तीन बालबालिकाको काजक्रिया गर्न खर्च जुटाउन मुस्किल परिरहेको वडाध्यक्ष विवेक मेहताले बताए । मेहताले व्यक्तिगत १० हजार सहयोग उपलब्ध गराएका हुन् ।
स्थानीय क्लिनिक सञ्चालक रामबाबु कुसवाहाकाअनुसार बालबालिकाका आमाले अचेत अवस्थामा आफ्नो क्लिनिकमा प्राथमिक उपचारका लागि ल्याएका थिए । उनलाई एम्बुलेन्समा राखेर अस्पताल प्रहरीले पु¥याएको र मृत्युपछि अस्पतालबाट शव ल्याउन उनीहरुलाई पैसाको अभावमा धौधौ परेको कुसवाहाले बताए । बालबालिकाको बुवा नरेश भारतको दिल्लीमा ज्यालादारी रोजगारीको सिलसिलामा थिए ।
नरेशको तेस्रो श्रीमतीका चार ती सन्तान थिए । एक काखे छोरा छन् । दोस्री श्रमतिकीबाट एक छोरी छिन् । पहिलो श्रीमतीको निधन भएको र दोस्रो श्रीमती घर छाडेर गइसकेकी छिन् । नगरपालिकालाई एम्बुलेन्स र आर्थिक सहयोगको लागि अनुरोध गर्दा उपलब्ध नगराएको कुसवाहाले बताए । कुसवाहा सोही वडाका हुन् ।