// सुरज नारायण झा //
काठमाडौँ,०५ भदौ। एसीड आक्रमणमा परेका पीडितहरूको वास्तविक कथालाई आधार बनाइ तयार गरिएको चलचित्र ‘नमेटिने घाउ’ भदौ ७ गतेदेखि प्रदर्शनमा आउने भएको छ । चलचित्र आगामी शुक्रबारदेखि नेपालभर एकैसाथ प्रदर्शनमा आउने भएको हो ।
म्यूजिक नेपालको यूट्यूब च्यानलबाट फिल्मको ट्रेलर सार्वजनिक भई भाद्र ७ गतेदेखी देशभरीका सिनेमा हलहरुमा फिल्म प्रदर्शन गर्ने तयारी पूरा भएको छ ।
चलचित्रका निर्माता तथा निर्देशक रमित ढुंगानाका अनुसार चलचित्रले विशेष गरी एसीड आक्रमणबाट पीडित भएकाहरुको शारीरिक र मानसिक पीडालाई चित्रण गरिएको बताउनुभयो ।
उनले चलचित्रमा एसीड आक्रमण गर्नेलाई आजीवन कैदको सजाय र सहज रुपमा एसिड बिक्री वितरणमा रोक हुनुपर्ने माग पनि प्रश्तुत गरिएको बताए । ‘नमेटिने घाउ’ नामक यो चलचित्रले समाजमा चेतना फैलाउने उद्देश्य बोकेको र यसलाई सबैले एक पटक हेर्नैपर्ने निर्देशक ढुंगानाले बताए ।
चलचित्रमा एसीड आक्रमणमा परेका देशभरका ३३ जना पीडितहरुको कथालाई समेटिएको छ । चलचित्रमा १२५ जना कलाकारको अभिनय रहेको छ । जसमा प्रमुख भुमिका प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, प्रहरी उपरीक्षक कुमोद ढुंगेल,एसीड पीडित मुस्कान खातुन, प्राप्ति पौडेल, लिजा कोरानी, रोजल थापा, कमल देवकोटा लगायतका व्यक्तिहरूले निर्वाह गरेका छन् ।
३ करोड रुपैयाँको लागतमा निर्माण गरिएको यो चलचित्र ५८ दिनमा तयार पारिएको हो । अभिनेता रमित ढुंगानाले निर्देशन र निर्माण गरेको यस चलचित्रमा शिवम अधिकारीको कथा र पटकथा, निरज कँडेलको छायांकन, बनिश साहको सम्पादन, ओम सुनारको संगीत र किरण ढकालको एक्शन रहेको छ ।
फिल्मलाई पहिलो भागको रुपमा लिन सकिने र यसपछि भाग २ र ३ को समेत तयारी भइरहेको निर्देशक ढुंगानाले बताए । साथै यस फिल्ममा नयाँ मुहारहरुलाई पनि मौका दिइएको उनले बताए ।