// रमेश कुमार यादव //
रौतहट,०५ भदौ। रौतहट जिल्लामा सवारी नियम उल्लङ्घन गर्नेहरूमाथि ट्राफिक प्रहरीले कडा कारबाही गर्दै आएको छ । चालु आर्थिक वर्षको साउन महिनामा मात्र रौतहट जिल्ला ट्राफिक प्रहरी कार्यालयले नियम विपरीत सवारी चलाउने १ हजार १ सय ५ वटा सवारी साधनमाथि कारबाही गरेको छ ।
जिल्ला ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर सुशील आचार्यका अनुसार, साउन महिनाको अन्त्यसम्ममा नियम उल्लङ्घन गर्ने सवारी साधन माथि कारबाही गर्दै ९ लाख २५ हजार ५ सय रुपैयाँ राजस्व संकलन गरिएको छ । ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर आचार्यका अनुसार, ट्राफिक नियमको पालनामा लापरवाही गर्ने सवारी चालकहरूको संख्यामा बृद्धि भएसँगै ट्राफिक प्रहरीलाई नियम उलंघन गर्ने सवारी साधनहरूमाथि कडा निगरानी राख्नुपरेको छ ।
उनले बताएअनुसार, ट्राफिक प्रहरी टोलीले जिल्लाका प्रमुख सडकहरूमा विशेष अभियान चलाउँदै सवारी चालकहरूको ट्राफिक नियम पालनाको स्थिति परीक्षण गरेको थियो। यस अवधिमा विभिन्न प्रकारका सवारी साधनहरू, जसमा मोटरसाइकल, स्कुटर, कार, बस र ट्रकहरू समावेश छन्, तीमध्ये सबैभन्दा बढी कारबाही ट्रकलाई त्यसपछि मोटरसाइकल सवारहरूलाई गरिएको छ ।
कारबाहीमा पर्ने सवारी साधनमध्ये सबभन्दा बढी टूकको संख्या ३३८ रहेको छ । यसैगरी दोस्रो स्थानमा २६१ मोटरसाइकल छन् भने त्यसपछि १७३ कार, जिप, टेम्पो ,८६ बस र ५९ ट्याक्टर रहेका छन् ।
नियम उल्लङ्घन गर्नेहरूमा ओभरलोडिङ्ग, हेल्मेट नलगाउने, मादक पदार्थ सेवन गरेर सवारी चलाउने, टूाफिक संकेतहरू उल्लङ्घन गर्ने लगायतका क्रियाकलापमा संलग्न रहेको पाइएको छ । इन्स्पेक्टर आचार्यले सवारी दुर्घटना कम गर्न र ट्राफिक नियमको पालना सुनिश्चित गर्न जिल्ला ट्राफिक प्रहरीले नियमित अनुगमन र कारबाही अभियान चलाइरहेको बताए । साथै, ट्राफिक नियम उल्लङ्घन गर्नेहरूमाथि अझ कडा कारबाही गर्ने चेतावनी पनि उनले दिएका छन् ।
साथै, उनले ट्राफिक नियमहरूको पालनामा सबै सवारी चालकहरूलाई सचेत रहन आग्रह गरे र नियम पालन नगर्नेहरूको हकमा कुनै पनि किसिमको लापरवाही सहन नसकिने स्पष्ट पारे । सार्वजनिक सरोकार राख्ने संघसंस्थाहरूले पनि ट्राफिक प्रहरीको यस कदमलाई समर्थन गर्दै सवारी साधनका चालकहरूलाई नियमको पालना गर्न आग्रह गरेका छन् । यसबाट जिल्लामा सवारी दुर्घटनामा कमी आउने अपेक्षा गरिएको छ ।
ट्राफिक प्रहरीको यस्तो सक्रियताले सवारी साधनका मालिक तथा चालकहरूमा नियम पालन गर्ने चेतना बढ्ने विश्वास गरिएको छ। रौतहट जिल्लामा यस प्रकारको कारबाही आगामी दिनहरूमा पनि निरन्तर चल्ने बताइएको छ।