वर्तमानकाल सम्वाददाता
भदौं ०६ गते ।
‘स्त्री’ स्टार श्रद्धा कपुरको लोकप्रियता झनै चुलिंदो छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई उछिन्दै उनी इन्स्टाग्राममा सबैभन्दा धेरै पछ्याइने तेस्रो भारतीय बनेकी छन् । सूचीमा उनी प्रियंका चोपडाको निकट पुगेकी छन् । ‘स्त्री २’ ब्लकबस्टर भएलगत्तै श्रद्धालाई इन्स्टाग्राममा पछ्याउनेको संख्या ह्वात्तै बढेको हो । श्रद्धालाई इन्स्टाग्राममा ९ करोड १४ लाखभन्दा बढीले पछ्याएका छन् । प्रधानमन्त्री मोदीलाई पछ्याउनेको संख्या ९ करोड १३ लाख छ ।
शीर्ष स्थानमा रहेकी चोपडालाई ९ करोड १८ लाखले पछ्याएका छन् । क्रिकेटर विराट कोहलीलाई २ करोड ७१ लाखले पछ्याएका छन् । त्यसपछि धेरै पछ्याइनेमा आलिया भट्ट, कट्रिना क्याफ, दीपिका पादुकोण र नेहा कक्कर छन् । धेरै पछ्याइने भारतीय अभिनेतामा सलमान खान छन्, जसलाई ६ करोड ९३ लाखले पछ्याएका छन् । इन्स्टाग्राममा जेभएपनि भारतीय प्रधानमन्त्री मोदी एक्स (पहिलेको ट्वीटर)मा सबैभन्दा धेरै पछ्याइने विश्व नेता हुन् ।
उनलाई एक्समा १०१.२ मिलियनले पछ्याएका छन् । ‘स्त्री २’ को कुरा गर्दा श्रद्धा कपुर स्टारर यो फिल्मले अहिलेसम्म विश्वभर ३०० करोड भारु कमाएको जनाइएको छ । यसले भारतमा गदर २, पठान, बाहुबली २ को कमाइलाई पनि उछिनेको छ । अमर कौशिक निर्देशित यो फिल्म नेपालमा पनि चलिरहेको छ ।त्यसतै भारतीय टिभी रियालिटी शो ‘कौन बनेगा करोडपति’को १६ औं सिजन चलिरहेको छ । शोलाई लिएर रोचक अपडेट छ ।
राजस्थानको सवाई माधोपुरकी नरेशी मीना यो सिजनमा एक करोड भारुको प्रश्नमा पुग्ने पहिलो प्रतियोगी बनेकी छन् । शोका होस्ट अमिताभ बच्चनले २७ वर्षीया मीनालाई एक करोड भारुको प्रश्न सोध्नेछन् । तर उनी करोडपति बन्छिन् कि बन्दिनन् भन्ने कुरा थाहा पाउन आगामी एपिसोड पर्खिनुपर्नेछ